ललितपुर, १९ फागुन । महालक्ष्मी नगरपालिकास्थित गोदावरी खोला पुल निर्माणमा अवरोध गर्न खोजिएको छ । वर्षा अगावै पुल निर्माण पूरा गर्ने लक्ष्य लिइएपनि मेशिनहरु बिगारेर ढिलो बनाइदिन खोज्नेहरु षड्यन्त्रमा लागेका छन् ।
निर्माणाधीन पुलमा प्रयोग भइरहेको जेनेरेटर बिगारिदिएपछि ठेकेदार समस्यामा परेका छन् । १६ लाख मूल्य पर्ने जेनेरेटर रातको समयमा केही व्यक्तिहरुले बिगारिदिएको बुझिएको छ ।
महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले पुल निर्माणमा सबैको साथ र सहयोगको आग्रह गरेका छन् । उनले भने,‘अवरोध खडा गर्ने क्रियाकलापलाई मध्यनजर गरी सुरक्षा बढाउन लगाइएको छ ।’ ठेकेदारले रातको समय पारेर ड्रोजरलगायत मेशिनमाथि आक्रमण हुन थालेपछि काम गर्न कठिन भएको गुनासो गरेका थिए ।
ग्वार्को लामाटार सडक खण्डमा पर्ने सिद्धिपुर लुभुको सीमानामा गोदावरी खोलाको पुल बनिरहेको छ । उक्त पुलको निर्माण लागत ४ करोड रहेको छ । पुल बन्न ढिलाई हुँदा गत वर्षको वर्षायाममा हजारौं नागरिकलाई आवतजावतमा समस्यामा परेको थियो । वर्षा शुरु हुन तीन महिना बाँकी हुँदा एकातर्फको पिलर मात्र गाडिएको छ ।
वर्षा अघि निर्माण सम्पन्न नभए लुभु र लामाटारबाट ग्वार्कोतर्फ आउने हजारौं जनता समस्यामा पर्न सक्छन् । नगरप्रमुख श्रेष्ठले पुल निर्माणमा सबैको साथ र सहयोगका लागि आग्रह गरेका छन् । केन्द्रको बजेटबाट बन्न लागेपनि स्थानीय निकायले महत्वका साथ ध्यान दिइरहेको बताए । सुरक्षामा कडाई गरेर भएपनि पुल तीन महिनाभित्र तयार गर्ने गरी आफूले ठेकेदारलाई भेटेर भनिसकेको बताए ।
ग्वार्कोबाट इमाडोल, सिद्धिपुर, लुभु बाट लामाटारसम्मको सडकखण्ड अन्र्तगत ग्वार्कोबाट इमाडोलसम्मको सडकको निर्माण पूरा भइसकेको छ । यस आर्थिक वर्षसम्म गोदावरी खोलासम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । अर्को आर्थिक वर्षसम्म लामाटारसम्मको २२ मिटर चौडा बाटो निर्माण हुनेछ । बाटो निर्माण भएपछि त्यस क्षेत्रका ३० हजारभन्दा बढी जनता लाभान्वित हुनेछन् ।




प्रतिक्रिया