Logo

मनाङको मुख्य प्रशिक्षकमा लोप्साङ नियुक्त



काठमाडौँ, २२ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त हुनुभएको छ । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई पुनःनियुक्त गरेको हो । यसअघि पनि लोप्साङले पाँच वर्षअघि मनाङ मस्र्याङ्दी क्लब सम्हाल्नुभएको थियो ।

छिरिङको नाम मुख्य प्रशिक्षकका रूपमा समावेश गर्दै मनाङले एएफसी कपका लागि खेलाडीको प्रारम्भिक सूची पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी अधिकांश खेलाडीले एएफसी कप खेल्नेछन् ।

मनाङ क्लबको व्यवस्थापन भर्खरै मात्र परिवर्तन भएको थियो । प्रत्येक दुई वर्षमा परिवर्तन हुने नेतृत्व अनुसार क्लबको अध्यक्ष छिमी उर्गेन गुरुङ चयन हुनुभएको छ । क्लबको नेतृत्वमा छिमीको पुनरागमनसँगै छिरिङले मनाङको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएको हो ।

लोप्साङ नेपालबाट एएफसीको ‘ए’ ग्रेडको लाइसेन्स प्राप्त गर्ने पहिलो ब्याचका प्रशिक्षक समेत हुनुहुन्छ । अघिल्लो महीना सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा मनाङको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठले एन्फाको यू–२३ टोली सम्हालेलगत्तै मनाङले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्