Logo

उपकरण थप्दै भरतपुर विमानस्थल



चितवन, २७ फागुन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको छ । सो उपकरणलाई रु ९० लाख पर्ने गौतमले बताउनुभयो । एक साताभित्रमा उपकरण जडान भई सक्ने उहाँले बताउनुभयो ।

विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन ।

यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदै छ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको छ ।

एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उहाँले बताउनुभयो ।

बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्