Logo

थाइल्याण्डमा नमुना मतदान



बैङ्कक, ३ चैत । थाइल्याण्डमा आइतबार विहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी रहेको छ । मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका छन् । विगत आठ बर्षपछि थाईल्याण्डमा अहिले निर्वाचन हुन लागेको हो । एक हप्तापछि यही मार्च २४ तारिखका दिन हुने निर्वाचनका लागि अहिले गरिएको नमुना मतदानमा झण्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रादेखि अहिलेसम्म पटक पटक निर्वाचन सर्दै आएकोमा आइतबार मात्रै नमुना मतदान भएको हो ।मतदाताहरुलाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थी र स्वयमसेवकहरुले सघाइरहेका थिए ।

मतदान भइरहेको एउटा विद्यालयमा थाई राजा माहावाजिरालोङकोर्न पनि पुगेर अवलोकन गर्नु भएको बताइएको छ । अत्यधिक बृद्ध हुनुभएका ९८ बर्षीय राजा महााभाजिलोङ्कनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उच्च प्राथमिकता दिएका छन् । मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाख भन्दा बढी मतदाता रहेका छन् ।

ती मध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन् । आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् ।

निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका निर्वाचन आयोगले जनाएको छ । थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ ।
थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टी भने यो निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ ।
पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि निर्वाचनमा भाग लिनबाट बञ्चित भएको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई हप्ता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको थियोे ।थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।

संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको थियो । थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गर्नु भएको थियो ।तर निर्वाचन आयोगले भने उहाँलाई उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेपछि उहाँ आफ्नो निर्णयबाट पछाडी हट्नु भएको थियो ।

उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उहाँलाई अयोग्य घोषणा गरेको हो ।राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो ।

थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ ।आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार नबन्ने बताएका थिए ।अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशकसम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्