Logo

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरण : एटीसीको कान जाँच्न निर्देशन



काठमाडौं ५ चैत । प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो ।

यती एयरलाइन्सको उक्त एटीआर विमान अल्फा माइक नोभेम्बरले काठमाडौं विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा भीभीआईपी सवार रहेको एटीसीलाई जानकारी गराएका थिए । तर, एटीसीले भीभीआईपी सुन्नुपर्नेमा भीआईपी मात्रै सुनेको स्रोतले बतायो ।

‘पाइलटले भीभीआईपी भनेको तर, काठमाडौं टावरमा रहेका एटीसीले भीआईपी मात्रै सुनेर प्रधानमन्त्री चढेको विमानलाई होल्डमा राखेछन्,’ स्रोतले भन्यो, ‘त्यसैले छानविन समितिले एटीसीहरुको सुन्ने क्षमतामा कमजोरी औल्याउँदै नागरिक उड्डयन प्राधिकरणलाई कान जाच्नुपर्ने सुझाव दिएको हो ।’

भीभीआईपीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख पर्छन् भने भिआइपीको सूचीमा मन्त्रीलगायतका पर्छन् । उडान सुरक्षाका कारण भीभीआईपी चढेको विमानलाई अवतरण र उडानमा उच्च प्राथमिकता दिइन्छ । तर, भीआईपी मात्रै रहेको विमानलाई सर्वसाधरण यात्रु सरहको व्यवहार गरिन्छ ।

एटीसीको स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय उड्डयन संगठन (इकाओ) ले पनि नियम बनाएको छ । ‘मेडिकली एटीसीले प्रष्ट सुन्न र बोल्न सक्ने प्रमाणित हुनुपर्छ,’ विमानस्थलका एक एटीसीले भने, ‘हाम्रो दृष्टी, बोली र सुनाइबारे मापदण्ड छन् । यदी होलबडी चेकजाँचमा तोकिएको मापदण्ड अनुसार स्वस्थ्य देखिएनौं भने डियुटीकालागि अयोग्य मानिन्छ ।’

त्यसैगरी छानबिन समितिले उक्त विमानमा प्रधानमन्त्री सवार भएपनि जानकारी नगराउने नागरिक उड्डयन कार्यालय भद्रपुरमा त्यस दिन डियुटीमा खटिएका कर्मचारीलाई विभागीय कारवाहीको सिफारिश गरेको छ । त्यस्तै काठमाडौं विमानस्थलको टर्मिनल डियुटीमा रहेका कर्मचारीले उक्त विमानमा प्रधानमन्त्री काठमाडौं आउँदै गरेको जानकारी पाएपनि महाप्रबन्धक राजकुमार क्षेत्रीलाई जानकारी नगराएकाले उनीहरुलाई पनि विभागिय कारवाही गर्न भनेको स्रोतले बतायो । त्यस्तै यति एयरलाइन्सको भद्रपुरमा रहेको स्टेशनका कर्मचारीलाई पनि कारवाही गर्न सरकारी छानबिन समितिले प्रतिवेदनमा लेखेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्