Logo

युरो कप फुटबलको छनोट चरणका खेल सुरु



बेल्जियम र नेदरल्याण्डसको विजयी सुरुवात

काठमाडौं, ८ चैत । अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको लागि छनोट खेलहरु सुरु भएका छन् । गएराति भएका छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सहज जित निकाल्दा स्कटल्याण्डले अनपेक्षित हार बेहोरेको छ ।

युरो कप छनोट समूह ‘सी’का खेलहरुमा नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले हराउँदा नर्दन आयरल्याण्डले ईस्टोनियालाई २–० ले पराजित गर्‍यो । युरो छनोट समूह ‘ई’को खेलमा क्रोएसियाले अजरबैजानलाई २–१ ले हराउँदा स्लोभाकियाले हंगेरीलाई २–० ले पाखा लगायो । यसैगरी समूह ‘जी’का खेलमा पोल्याण्डले अष्ट्रियालाई १–० ले हराउँदा उत्तरी मेसेडोनियाले लात्भियालाई ३–१ ले हराएको छ । यही समूहको अर्को खेलमा ईजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले ।

समूह ‘आई’का खेलमा बेल्जियमले रुसलाई ३–१ ले हराउँदा काजखस्तानले स्कटल्याण्डलाई ३–० ले तथा साईप्रसले सान मारिनोलाई ५–० ले पराजित गरे । युरो कप फुटबलको १६ औं संस्करण अर्को वर्ष जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुँदैछ ।

युरोपियन च्याम्पियनसिप प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटक युरोपका विभिन्न १२ देशका १२ शहरले संयुक्तरुपमा युरोकप आयोजना गर्दैछन् । २४ टोली सहभागी हुने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल लण्डनको ऐतिहासिक वेम्बले रंगशालामा हुनेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्