फोरम-राजपा एकता कता ? नेताहरुबीच जुहारी


चैत ९, काठमाण्डौ । केही दिनयता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको एकताको चर्चा सुरु भएको छ । यी दुई दलले पार्टी एकताका लागि एकअर्कालाई चिठी पठाउनेदेखि त्यसको जवाफ दिनेसम्मको काम भइसकेको छ । तर दुवै दलले एकताका लागि केही शर्तहरु पनि अघि सारेका छन् ।

एक वर्षसम्म सरकारलाई समर्थन गरेर मन्त्रीमण्डलमै सहभागि हुने आशा राखेको राजपाले रेशम चौधरी प्रकरणमा आक्रोषित भएर समर्थन फिर्ता लिएको घोषणा गर्यो । आफ्ना सांसद रेशम चौधरीलाई अदातले टिकापुर काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि आक्रोषित बनेको राजपाले समर्थन फिर्ता लिएको थियो ।

फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सम्हालेर बसेका छन् । तर उनी आफैँ सरकारको आलोचना गर्न पछि पर्दैनन् ।

यस्तो अवस्थामा दुई दलको एकताका लागि फोरम पनि सरकारबाट बाहिरिनुपर्ने शर्त राजपाले राखेको छ । करिब एक महिनाअघि राजपाले एकताको प्रस्ताव गर्दै फोमरलाई पत्र नै पठाएको थियो । उक्त पत्रको जवाफलाई राजपाले सकारात्मक रुपमा लिएको छ ।

तर, सरकारमा रहीरहने हो भने एकता प्रक्रिया अगाडि बढ्न नसक्ने राजपाको अडान छ । महासचिव केशब झाले फोरमालाई सरकारबाट बाहिरिन आग्रह गरेको स्पष्ट पारेका छन् ।

राजपाले पार्टी एकतासँगै तराई मधेशसँग जोडिएका कतिपय विषयमा संघर्ष नै गर्नुपर्ने भएकाले फोरमलाई सरकारबाट बाहिरिन दबाब दिएको हो । दुवै दलले संविधान संशोधनको माग राख्दै आएका छन् । बुँदागत रुपमा मागहरु केही तलमाथि भए पनि आधारभूत पक्षहरुमा दुवै दलको समान धारणा देखिन्छ ।

तर केपी ओली नेतृत्वको सरकारले संविधान संशोधनको आश मात्रै देखाएको दुवै दलको ठहर छ । तर राजपाले फोरमलाई सरकारबाट बाहिरने सुझाब दिइरहँदा फोरमले भने त्यो सुझाब नै नआएको भनेर ढाँटेको छ ।

संघीय समाजवादी फोरमका नेता रामसहाय यादवले राजपाले आफूहरुलाई सरकारबाट बाहिरिन आग्रह नै नगरेको झुटो दावी गरे ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको हो ।

तर एकताका लागि प्रभावकारी रुपमा प्रक्रिया भने अघि बढेको छैन । प्रदेश दुईमा मिलेर सरकार बनाएका फोरम र राजपा पछिल्लो समय धेरै मिलेको जस्तो देखिदैन । तर दुवैले तराई मधेशका एजेण्डालाई उठान गर्दै आएकाले जुनसुकै बेला एकता नगर्लान भन्न पनि सकिदैन ।