Logo

प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न



कास्की, २१ चैत । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेशको विकास र समृद्धि नभएसम्म आफूलाई आनन्दको अनुभूति नहुने बताउनुभएको छ । जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा आज भएको विशेष सत्सङ्ग कार्यक्रममा उहाँँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण भएर संविधान कार्यान्वयनका लागि आफू प्रदेश प्रमुख भए पनि मनमा भने आनन्द नभएको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “म अहिले जुन पद प्रतिष्ठामा छु, जे प्राप्ति भएको छ, त्यसमा अहिले मलाई आनन्दको अनुभूति छैन, एउटा प्रदेश प्रमुखले प्रदेश समृद्ध नभएसम्म कसरी आनन्द लिन सक्छ रु” मानिसले प्रवचनबाट सुनेका कुरालाई ग्रहण गरेर जीवनशैली बनाउन सकेमा मात्र ज्ञान प्राप्त हुने हुँदा जीवन विज्ञानबाट जिउने कला प्राप्त हुने र मृत्युलाई पनि उत्सव बनाउन सक्ने क्षमता यसले प्रदान गर्ने धारणा उहाँको छ ।

जीवन विकास विशेषज्ञ गुरुदेव एलपी भानु शर्माले विशेष प्रवचन दिँदै अध्यात्मले व्यक्ति व्यक्तिमा काम गर्ने भएकाले सुखी र स्वस्थ हुने विषय आफँैमा निर्भर रहने बताउनुभयो । योग, व्यायाम र ध्यानको माध्यमबाट स्वस्थ शरीरको निर्माण गर्दै सुख, शान्ति र समृद्धि हासिल गर्ने उद्देश्यले विसं २०६७ मा जीवन विज्ञानको स्थापनासँगै देशका सातवटै प्रदेशमा गरी ६३ केन्द्रमा दैनिक योग, ध्यान र व्यायाम हुने गरेको प्रयोगशालाका गण्डकी प्रदेश प्रमुख गुणाखर सापकोटाले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्