Logo

लोडसेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरेको कुलमानको आरोप



काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आक्षेप लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाए।

उनले प्राधिकरणलाई कम्जोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु को हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको पनि बताए। आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत् ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको पनि स्पष्टिकरण दिए।

उनले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानविन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको पनि स्पष्ट पारे। घिसिङले आगामी चार वर्ष भित्र सबै नागरिकको पहुँचमा विद्युत प–याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको पनि बताए।

उनले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए। कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्