Logo

इथियोपियामा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायता आवश्यक



आदिस अबाबा, २६ चैत : अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भइरहेका छन् ।

इथियोपियामा विगत लामो समयदेखि जारी युद्ध र सुक्खाजस्ता विभिन्न समस्याका कारण ती नागरिकमा आधारभूत खाद्यान्न लगायतका सामग्री आवश्यक रहेको अधिकारीहरुको भनाई छ ।

यहाँ लामो समयदेखि जारी द्वन्द्व, जलवायु परिवर्तका कारण उत्पन्न सुक्खा र खडेरी लगायतका विभिन्न समस्याका कारण खाद्यान्नको उत्पादनमा नै असर परेको छ । यही कारण धेरै मानिस प्रभावित भएका र उनीहरुलाई खाना र राम्रो खानेपानीकै समस्या रहेको राष्ट्रसंघको भनाई छ ।

अघिल्लो महिना मात्र पनि इथियोपियाको सरकार, राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारहरुले गरेको एक अध्ययनमा पनि यहाँका करिब ८३ लाख मानिसलाई सन् २०१९ मा खाद्यान्न र अन्य वस्तुहरुको आपूर्तिका लागि कम्तीमा पनि एक अर्ब ३० करोड अमेरिकी डलरको खाँचो रहेको जनाएका थिए । जलवायु परिवर्तनका कारण उत्पन्न खडेरी र द्वद्वबाट प्रभावित लाखौँ मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । (रासस-सिन्ह्वा)
––



प्रतिक्रिया दिनुहोस्