Logo

सगरमाथाको उचाइ नाप्न नेपाली टोली आधार शिविरतर्फ प्रस्थान(फोटोफिचर)



काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ ।

पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ । प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आरोहीहरुलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिनुभयो ।

फोटोः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्