Logo

प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकण



काठमाडौं, २८ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उनले सो जग्गा किनबेच नभएको स्पष्ट पारेका हुन्।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको बताए।

मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि बताए। उनले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको टिप्पणी गरे।

मन्त्री बास्कोटाले भने,’प्रधानमन्त्री निवासको जग्गा रोक्का राख्ने निर्णय भइसकेको छ। विष्णु पौडेल त ठगिएका रहेछन्। जग्गा परेछ नक्कली।’सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले थपे, ‘सत्य तथ्य बुझेर सरकारले छोड्दैन।’

नेकपाका महासचिव पौडेलले वक्तव्य जारी गरेको उल्लेख गर्दै मन्त्री बास्कोटाले भने, ‘दोषी देखिएको छ भने कोही उम्कन पाउँदैन। नेकपाको महासचिवले विज्ञप्तिमार्फत स्पष्ट पारिसक्नु भएको छ। उहाँ त फर्जी धन्दामा संलग्न भएको हैन नि। उहाँले थर्ड पार्टीबाट किन्नु भएको हो। उहाँ त ठगीमा पर्नु भएको हो नि।’

फरक प्रसंगमा मन्त्री बास्कोटाले सरकारी चिकित्सकहरुलाई आन्दोलन छाडेर आफ्नो काममा फर्कन सचेत गराए। उनले सरकारी चिकित्सकहरुको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए। मन्त्री बास्कोटाले जनतालाई सेवा दिने कुरामा बेवास्ता गरिरहे सरकारी चिकित्सकहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस्