Logo

ललितपुर महानगरपालिकाले दरबन्दी टुङ्गो लगाउने



काठमाडौँ, ४ वैशाख । ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ । पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् ।
सङ्घीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उहाँले बताउनुभयो । महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन् । महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ । उहाँले भन्नुभयो, “महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ ।”

उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन । सङ्घीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुङ्गो लाउने महानगरले बताउँदै आएको छ । अहिले वडाअनुसार फरकफरक जनशक्ति खाँचो पर्ने प्रवक्ता महर्जनले बताउनुभयो । समायोजनबाट आएका कर्मचारी र महानगरलाई आवश्यक कर्मचारी पनि फरक रहेको छ । उहाँले भन्नुभयो, “यहाँ हामीलाई प्राविधिक जनशक्ति आवश्यक भए पनि यहाँ प्रशासनतर्फका कर्मचारी बढी आउनुभएको छ ।”

महानगरपालिकामा भवनको अभाव रहेको छ । विषयगत कार्यालयका कर्मचारी समायोजनमार्फत आए पनि कर्मचारी नआउँदा भवनको अभाव रहेको महानगरपालिकाले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्