Logo

सरकारले जनताको अधिकार खोस्न खोज्यो ः सभापति देउवा



काठमाडौं, ७ बैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताउनुभएको हो । “ सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध काङ्ग्रेस जाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उहाँले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो । “पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न सक्दैन”, उहाँले भन्नुभयो । “वर्तमान सरकार सङ्घीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो”, महामन्त्री कोइरालाले भन्नुभयो ।

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सङ्गठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका उहाँले काङ्ग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गरिरहेको छ भन्नुभयो ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताउनुभयो । “जागरण अभियानलाई स्पष्ट ढङ्गले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन”, उहाँले भन्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्