काठमाडौं, ९ बैशाख। लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कार्डिफ सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो ।
कार्डिफको मैदानमा लिभरपुललाई जित दिलाउन जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक–एक गोल गरे । जितसँगै शीर्ष स्थानको लिभरपुलले ३५ खेलबाट ८८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८६ अंक छ ।
यस्तै गएराति भएको अर्को खेलमा आर्सनल पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग ३–२ गोलअन्तरले पराजित भएको हो ।
इमिरेट्स स्टेडियममा क्रिष्टललाई जित दिलाउन क्रिस्टियन बेन्टेके, वेल्फ्रेड जाहा र जेम्स म्याकअर्थरले एक–एक गोल गरे । आर्सनलका मोसिट ओजिल र पेरिक एम्रिक आबुमियाङले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो हारसंगै आर्सनलले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको आर्सनलले ३४ खेलबाट ६६ अंक जोडेको छ । ४२ अंक जोडेर क्रिष्टल लिगको १२ औं स्थानमा उक्लिएको छ ।
हिजै साँझ भएको अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाईटेडलाई लज्जास्पद हार चखाएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
एभर्टनका लागि रिचार्लिसन, गिल्फी सिगुर्डसन, लुकास डिग्ने र थियो वाल्कोटले एक–एक गोल गरे । एभर्टनसँगको हारसँगै युनाईटेडको शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ । छैटौं स्थानको युनाईटेडको ६४ अंक छ । जितसँगै एभर्टन ४९ अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ । एजेन्सीको सहयोगमा




प्रतिक्रिया