Logo

२०७२–१–१२ शनिवार १२:५६



२०७२ साल वैशाख १२ गते शनिवार १२ बजेर ५६ मिनेटमा भूकम्प :
२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । लगत्तै वैशाख २९ गते अर्को भूकम्प गयो ।
भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भए ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

अति प्रभावित १४ जिल्ला :
गोरखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, रामेछाप, दोलखा, मकवानपुर, काभ्रे, ओखलढुंगा, रसुवा र सिन्धुली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा राजनीति :

भूकम्प प्रभावितहरुलाई राहत तथा पुर्नस्थापनाका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकार चरम राजनीतिको सिकार भएको छ ।

प्राधिकरण गठन भएको साढे ३ वर्षको बीचमा अहिलेसम्म पाँच पटक सिइओ अर्थात प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । सुरुमा सुशील कोइराला नेतृत्वको तत्कालिन सरकारले गोविन्द पोखरेललाई सीईओ नियुक्त गरेको थियो ।

२०७२ पुस १ मा प्राधिकरण ऐन संसद्बाट पारित भएपछि केपीशर्मा ओली नेतृत्वको तत्कालिन सरकारले सुशील ज्ञवालीलाई सीईओमा नियुक्त गरेको थियो ।

तर, २०७३ पुस २७ गते तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ज्ञवालीलाई हटाउँदै कांग्रेस निकट पोखरेललाई पुनः सिइओमा नियुक्त गरेको थियो ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले युवराज भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

महत्वपूर्ण सम्पदा अझै बनेन :
२०७२ सालको भुकम्पले क्षेतिग्रस्त ऐतिहासिक संपदाको पुननिर्माण सुस्त छ । काठमाडौँ र काठमाडौँ उपत्यका बाहिरका अन्य ऐतिहासिक संपदाको त कुरा छोडौँ देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जस्तो ऐतिहासिक संपदाको समेत पुननिर्माण अहिलेसम्म कछुवाको गतिमा छ । सिंहदरबार पुनर्निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

धरहरा, रानीपोखरी, बसन्तपुर दरबार स्क्वायर जस्ता सर्वाधिक चासो रहेका संरचनासमेत बन्न सकेको छैन ।

बजेट अभाव :
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाख १२ गतेको बिनासकारी भूकम्पपछिको पुननिर्माणका लागी थप करिव ४२९ अर्व रुपैया रकम आवश्यक पर्ने जनाएको छ । योबाट स्पष्ट हुन्छ कि पुननिर्माणका लागि बजेटको अभाव छ ।

पुनर्निर्माण र पुर्नस्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भइसकेको छ ।

निजी आवास अझै बनेन :
अहिलसम्म निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनिसकेको छ । यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ ।

स्वास्थ्य संस्था :
स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण र पुनःस्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्