Logo

भोलिदेखि काठमाडौंमा विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौं, १३ बैशाख । साझा सवालका लागि साझा मञ्च (कोकन) ले महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेशन (भारतीय गैरसकारी संस्था) सँगको सहकार्यमा यही बैशाख १४ गतेदेखि १८ गतेसम्म काठमाडौंमा विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

शुक्रबार साझा सवालका लागि साझा मञ्च (कोकन) र महर्षी अरविन्द फाउण्डेसनले संयुक्त रुपमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् । आयोजकले दिएको जानकारी अनुसार उक्त सम्मेलन विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव कुमार घिमिरेले उक्त सम्मेलनको बारेमा प्रकाश पारेका थिए । घिमिरेले भने,‘समाज परिवर्तनको लागि सबैभन्दा पहिले व्यक्तिमा सकारात्मक सोच आवश्यक छ । सकारात्मक सोच आध्यात्मिक साधनाबाट प्राप्त हुन्छ ।’

उक्त सम्मेलनमा आध्यात्मिक सोचका लागि प्रयोगात्मक अभ्यास हुने र सँगसँगै कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित विषयहरु प्रकृतिउन्मुख पद्धतीबाट सञ्चालन गर्न सकियो भने व्यक्ति र समाज दुवैलाई स्वस्थ राख्न सकिनेपनि घिमिरेले विश्वास दिलाए ।

कार्यक्रममा महर्षी अरविन्द फाउण्डेसनका निर्देशक डा. शतिष सेलुकरले सम्मेलनको बारेमा प्रकाश पार्दै सन् २०२१ मा श्रीलंकामा हुने सातौं सम्मेलनबाट विश्वव्यापी सद्भावका लागि शान्ति स्थापनाको कार्य सय वटा मुलुकमा एकैपटक सुरुवात गर्ने जानकारी दिए ।

साझा सवालका लागि साझा मञ्च, नेपालका महासचिव हिरा शर्मा नेपाल र महर्षी अरविन्द फाउण्डेसन, भारतका सचिव प्रणव नारखेडेको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो सम्मेलनले विश्वका विभिन्न भागमा रहेका मानवता र मानव अधिकारका मुल्य मान्यताबारे जानकार रही यसको संरक्षणमा क्रियाशिल तथा शुभेच्छुक बौद्धिक व्यक्तित्वहरु विमर्श गर्ने एउटा साझा मञ्च प्रदान गर्नेछ।’

आयोजकका अनुसार विश्वव्यापी सद्भावका लागि शान्ति निर्माताहरुका चारवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु भारत र श्रीलंकामा सम्पन्न भैसकेको र त्यसमा नेपालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

जारी विज्ञप्तीमा थप भनिएको छ,‘व्यक्तित्व तथा समावेशीकरणका मुल्य मान्यताहरुले तव परीणाम प्राप्त गर्दछ, जब आध्यात्मिकता र विज्ञानको एकता/सहकार्य हुन्छ भन्ने करामा यो सम्मेलन विश्वास राख्दछ । विश्वमा मानवियता क्रमशः खस्कँदै गएको र कृषि, स्वास्थ्य, शिक्षालगायतका अन्य क्षेत्रहरुसमेत समस्याले जेलिँदै गएको वर्तमान परिप्रेक्ष्यमा यो सम्मेलन र यहाँ हुने छलफल तथा विमर्शहरु सार्थक हुनेछन् ।’

उक्त सम्मेलनको उद्धघाट्न भने काभ्रे धुलिखेलका मेयर अशोक व्याञ्जुले गर्नेपनि आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका साथै भारत, श्रीलंका, संयुक्त राज्य अमेरिका र बेलायतका प्रतिनिधिहरुको सभागिता रहनेपनि आयोजकले जनाएको छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘यस विश्वव्यापी सद्भावका लागि शान्ति निर्माताहरुको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन समानता, एकता र समृद्धिका विषयमा केन्द्रित रही राष्ट्रिय कार्ययोजना तयार गर्दै सम्पन्न हुनेछ ।’

विषयगत छलफल तथा विमर्शका अतिरिक्त सम्मेलन अवधिमा योग, ध्यान तथा ‘सम्पूर्ण यात्रा’ नामक सांस्कृतिक कार्यक्रमसमेत राखिएको र उक्त सांस्कृतिक कार्यक्रममा नेपाल तथा भारतका कलाकारहरुले प्रस्तुति दिने सल्लाहकार घिमिरले जनाए ।

सम्मेलनमा स्वदेश तथा विदेश गरि १ सय ५० जनाको उपस्थिति रहनेपनि आयोजकले जनाएको छ । जसमा सय जना नेपालबाट र ५० जना विदेशबाट उपस्थिति रहनेछ । धुलिखेल लज रिसोर्टमा हुने उक्त सम्मेलनको उद्धघाट्न बैशाख १४ गते विहान १०ः०५ बजे हुनेछ ।

उक्त सम्मेलनमा सहकार्य गर्ने भारतका दुई गैरसरकारी संस्थाहरु महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेसन कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राचिन ज्ञान तथा प्रविधिहरुबारे खोज तथा अनुशन्धान कार्यमा संलग्न रहेको पनि विज्ञप्तीमार्फत जनाईएको छ । त्यस्तै, साझा सवालका लागि साझा मञ्च (कोकन) विगत आठ वर्षदेखि मानव अधिकार, शान्ति तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्