Logo

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी



काठमाडौं १५ बैशाख । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन ।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए ।

गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए । उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए ।

विकट ताँजाकोटमा नौजनाको ज्यान गइसक्दा पनि औषधि र विज्ञसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका थियो ।

कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन ।

कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका महामारी सम्पर्क व्यक्ति श्याम आचार्यको नेतृत्वमा डा. टेकराज भट्टराई र एकजना ल्याबका कर्मचारी साँझ सुर्खेत नै फर्किएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्