Logo

सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने



ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी एक सय वर्षको जन्मदिन वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ ।

जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न प्रतियोगिता र प्रदर्शनीलगायतका कार्यक्रम गरेर भब्यरुपमा मनाउन लागिएको छ ।

जन्मशताब्दीमा आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिन आज पत्रकार सम्मेलनमा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले नगरभित्र उहाँको नामको पार्क निर्माण गर्ने र महानगरपालिकाभित्रको कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिने बताउनुभयो ।

उहाँले वर्षभर नै विभिन्न कार्यक्रम गरेर भव्यरुपमा उहाँको जन्मशताब्दी मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार जोशीलाई नगर परिक्रमासँगै रक्तदान, नगरभित्रका १०० वर्ष पूरा गरेका नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ । सर्वोच्च शिखर सगरमाथाको उहाँको तस्बीर अङ्कित ब्यानर फहराइने उहाँको भनाइ छ । महानगरपालिकाअन्तर्गतका कार्यालय वैशाख ३० गते बिदा गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएका लेख रचनाको सङ्कलनसँगै उहाँसम्बन्धी सामग्री पाठ्यपुस्तकमा राख्न पहल गरिनेछ ।” महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी देशकै गहना भए पनि यहीँ जन्मे हुर्किएकाले महानगरपालिकाले सम्मान गरेको बताउनुभयो । जोशी नेपालमा मात्रै नभएर भारत, चीनलगायतका देशमा चर्चित रहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरसम्मै चर्चा कमाउनुभएका उहाँको सम्मानमा नेपाल सरकारले पनि कार्यक्रम आयोजना गर्न सक्छ ।”

महानगरपालिका वडा नं ४ का अध्यक्ष श्रीगोपाल महर्जनले जोशीले देश र देशवासीका लागि पु¥याउनुभएको योगदानको सम्मान गर्दै वर्षभर कार्यक्रम गर्न लागिएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “उहाँले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पु¥याउनुभएको योगदान अतुलनीय छ ।”

संस्कृतिविद् जोशीको आगामी ३० गतेदेखि ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको जन्मशताब्दी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रियसभाका संसद्, प्रतिनिधिसभाका संसद्लगायतका, स्थानीय तहका जनप्रतिनिधि, छिमेकी नगरपालिकाका प्रमुखलगायतको सहभागिता छ ।

महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्षभर नै सांस्कृतिक महोत्सव, खेलकूद प्रतियोगिता, कला प्रदर्शनीलगायतका कार्यक्रम गर्ने भएको छ । महानगरपालिकाले गत वर्ष उहाँलाई सवारी साधन, मोबाइल फोन र सुरक्षागार्डलगायतको सेवा उपलब्ध गराएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्