Logo

प्रधानमन्त्री भियतनाम जाँदै



काठमाडौं १८ बैशाख । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अर्को साता भियतनाम जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर्ड सेवा लिने भएका छन् । ओली ३० सदस्यीय प्रतिनिधिमण्डलका साथमा वैशाख २६ मा भियतनाम जाँदैछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बौद्धमार्गी मुलुक भियतनामसँग द्विदेशीय हवाई सम्झौता नवीकरण गर्ने तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्न उपाय पहिल्याउने प्रधानमन्त्रीको कार्यक्रम छ । भियतनामपछि अर्को पूर्वी एसियाली मुलुक कम्बोडियाको भ्रमणमा प्रधानमन्त्री जाने भएका छन् । भियतनाम तथा कम्बोडिया दुवै देशका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता मिलाउन बैंककस्थित नेपाली नियोग लागिरहेको स्रोतले बतायो । दुवै देशको कूटनीतिक मामिला बैंकक नियोगले हेर्दै आएको छ । ‘द्विदेशीय वार्ताका एजेन्डा र अन्तिम कार्यक्रम भने आगामी साता मात्रै निर्धारण हुनेछ,’ परराष्ट्रका अधिकारीले भने ।

गत डिसेम्बरमा काठमाडौंमा युनिभर्सल पिस फेडरेसनको आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सहभागी कम्बोडियाका प्रधानमन्त्री हुन सेनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्