Logo

समृद्धि हाँसिल गर्न सहमति, सहकार्य र एकता अनिवार्य : जुली महतो



जुली महतो, प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) :प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउने दिशामा सरकार अघि बढिरहेको छ । सरकारको एक वर्षको दुई तिहाइ समय थिति बसाल्न, नियम, कानुन, ऐन बनाउनमै व्यतीत भएको छ । सरकारको काम प्रभावकारी भएन भन्ने गुनासाहरू मिडियामार्फत सुनिएका छन् । तर, हामीले तत्कालै परिणाम नपाएकोमा यस्तो कुरा सुनेका हौं ।

विस्तारै सरकारले जनतामा प्रत्यक्ष प्रभाव पार्ने गरी कामकारबाही अघि बढाउँछ । विकास निर्माणका कामले गति लिएका छन् । अहिले नै सरकारको कामको बारेमा मूल्यांकन गर्ने बेला भएको छैन । लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएको छ । यो देश र जनताको लागि पनि ठूलो सौभाग्यको कुरा हो । मुलुक राजनीतिक अस्थिरताको गञ्जागोलबाट मुक्त भएको छ । अब विस्तारै विकास निर्माण र समृद्धिका कामहरू अघि बढ्छन् । यसको लागि सबै दलहरूबीच सहमति, सहकार्य र एकता हुन जरुरी छ ।

सरकारको कामकारबाहीले अहिले समृद्धिको दिशा पक्रिएकोजस्तो मलाई लाग्छ । तर, अझै धेरै गर्न बाँकी छ । पूर्वाधार विकासको क्षेत्रमा सरकारले विस्तारै गति लिएको छ । अब देखिने गरी विकास निर्माणका कामहरू अघि बढ्छन् । यसमा कुनै शंका गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मुलुकमा सुशासन कायम गर्नुपर्छ । गलत गर्ने जो कोहीलाई पनि छुट दिनु हुँदैन । कारबाहीको दायरामा ल्याउनुपर्छ ।

हाम्रो देश त प्राकृतिक रूपमै धनी छ । अर्को कुरा, हामी विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक भारत र चीनको बीचमा छौं । नेपालले दुवै देशको आर्थिक प्रगतिबाट लाभ लिनुपर्छ । नेपाल र भारतबीच शदीयौंदेखि प्रगाढ सम्बन्ध छ । यसलाई समयानुसार थप सुमधुर बनाउँदै लैजानुपर्छ । भारत नेपालको लागि धेरै महत्वपूर्ण छ । हामीसँग भाषा मिल्छ । संस्कृति मिल्छ । धर्म मिल्छ । नेपालको विकास र समृद्धिमा भारतले सहयोग पु¥याउँदै आएको छ । आगामी दिनमा भारतको सहयोगलाई अझै बढाउनुपर्छ । भारतसँग हाम्रो डरलाग्दो व्यापार घाटा छ । त्यसलाई कम गर्नको लागि नेपालले अब उत्पादनमा ध्यान दिनुपर्छ । कृषिजन्य वस्तुहरूको निर्यात गर्नृ सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ ।

चीन पनि हाम्रो लागि उत्तिकै महत्वपूर्ण छ, जति भारत छ । भारत र चीन दुवै देशबीच खर्बौको व्यापार भइरहेको छ । त्यसैले नेपालले अब दुवै देशको समृद्धि र विकासबाट प्रत्यक्ष लाभ हासिल गर्न सक्नुपर्छ । चीन विश्वकै उदीयमान अर्थतन्त्र हो । पछिल्लो समय चिनियाँ पर्यटकहरूको नेपाल आगमन ह्वात्तै बढेको छ । जुन सकारात्मक हो । चीनले नेपालको विकासमा ठूलो सहयोग पु¥याउँछ । तीन वर्षपहिले काठमाडौंमा भएको लगानी सम्मेलनमा पनि सबैभन्दा बढी लगानीको प्रतिबद्धता चीनबाटै आएको थियो । नेपालले चीनको सीप र प्रविधिलाई अधिकतम आफ्नो हितमा प्रयोग गर्नुपर्छ ।

मुलुकमै रोजगारीको वातावरण बनाउनुपर्छ । नेपालका दक्ष जनशक्ति अहिले विदेश पलायन भएका छन् । सरकारले युवाहरूलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने अभिप्रायले नयाँ–नयाँ ‘स्किम’ अघि सारेको छ । जुन एकदमै सराह्रनीय छ । त्यसैले मेरो विचारमा मुलुकको समृद्धिको लागि नेपालले भारत, चीनलगायतका अन्य छिमेकीहरूसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्छ । कुनै एक देश विशेषसँगमात्रै सम्बन्ध राख्नु हुँदैन । जुन अहिलेको सरकारले व्यवहारमै सन्तुलित र पारस्परिक हितको आधारमा सम्बन्ध कायम गरेर देखाएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूले समृद्धिको लागि देख्नुभएको सपना र चाल्नुभएका पाइलाहरू सही छन् । र, अहिले सकारात्मक दिशामा पाइलाहरू लम्किरहेका छन् । उहाँलाई पार्टीको तर्फबाट पूर्ण साथ र सहयोग हुनुपर्छ । सरकारले गरेका राम्रा कामहरू जनतासामु पु¥याउनुपर्छ । यदि गलत गरेको छ भने त्यसको विरोध गर्नुपर्छ । अहिलेको समय नेपालको राजनीतिक इतिहासमै सर्वोत्तम समय हो । यसलाई सही सदुपयोग गर्नुपर्छ । अब पनि राजनीतिक मुद्दामा अल्झिनु हुँदैन ।

समृद्धिको लागि सबै दल एकजुट भई हातेमालो गर्दै अघि बढ्नुपर्छ । महिला अधिकारसम्बन्धी कानुनहरू आएका छन् । भएका कानुनलाई कार्यान्वयन गर्नुपर्छ । महिला र पुरुष दुवै समान हुन् । भेदभाव नगरिकन अघि बढ्नुपर्छ । समृद्ध मुलुकको नागरिक भएर बाँच्नको लागि हामीले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्