Logo

हुम्लामा ‘इन्फ्लुन्जा’



काठमाडौं २१ बैशाख । १० जनाको ज्यान जाने गरी हुम्लाको ताजाकोटमा फैलिएको मौसमी रुघाखोकी ‘इन्फ्लुन्जा’ पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा ५ बिरामीको खकारको नमुना (थ्रोट स्वाब) परीक्षण गरिएकोमा एक जनामा ‘एच१एन१’ प्रकारको इन्फ्लुन्जा भेटिएको हो ।

चार दिन प्रभावित क्षेत्रमा बसेर फर्किएका कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले यो छिटो फैलिने प्रकारको मौसमी रुघाखोकी भएको बताए । ‘यसको सरुवा दर तीव्र हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी असर पुर्‍याउँछ,’ उनले भने, ‘हुम्लामा बालबालिका र वृद्धवृद्धाको मृत्यु हुनुको कारण पनि यही हो ।’

चैत अन्तिम सातादेखि फैलिएको इन्फ्लुन्जाबाट १० जनाको मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेका अनुसार प्रभावित क्षेत्रमा अहिले पनि मुगुको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना छन् । ‘रोग धेरै हदसम्म नियन्त्रण भइसकेको छ,’ उनले भने, ‘फाट्टफुट्ट देखिएका बिरामीमा पनि एन्टिभाइरल औषधि प्रयोग गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्