Logo

संसदमा जग्गा काण्डको चर्चा, सापकोटाले भने–देशको माया कसले गर्ने ?



वैशाख २२, काठमाण्डौ । सरकारले भष्ट्राचार नियन्त्रण भइरहेको दावी गरिरहेका बेला सत्तारुढ दलकै सांसदले बालुवाटारदेखि सबै ठाउँमा भष्टाचार भइरहेको बताएका छन् । आइतबार संसदमा भइरहेको नीति तथा कार्यक्रममाथि बोल्दै नेकपाका सांसद तथा पूर्व मन्त्री अग्नि सापकोटाले बालुवाटार, खुल्ला मञ्चदेखि देशैभर भष्टाचार भएको बताए । संसदीय समितिबाट छानविनको संयोजकसमेत रहेका सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कुनै प्रवचन दिएर र कसम खुवाएर भ्रष्टाचार निर्मुल गर्न नसकिने बताए ।

सरकारको नीति तथा कार्यक्रमको छलफलका क्रममा सत्तारुढ दलका सांसद अग्नी सापकोटाले व्यक्त गरेको धारणाले सबैको ध्यान खिच्यो । सत्तापक्षकै सांसद भएकाले सापकोटाले सरकारको बचाउ र नीति तथा कार्यक्रमको प्रशंसा गर्ने धेरैको अनुमान थियो ।

तर सापकोटाले देशका विभिन्न स्थानमा भइरहेको जग्गा अतिक्रमणको चर्चा गरे । चर्चा मात्रै होइन, सरकारले जग्गा अनियमितता र भ्रष्टाचारको विषयमा सरकार मुकदर्शक बनेको भन्दै आलोचना र गुनासो गरे । सापकोटाले भ्रष्टाचार जहाँतहीँ भएको भन्दै सरकारमाथि गम्भीर प्रश्न गरे ।

सापकोटाले बालुवाटारको ललिता निवास, रत्नपार्कको खुल्लामञ्च, पोखरा, जनकपुर लगायत धरै ठाउँको सरकारी जग्गा भू माफियाले सखाप पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सापकोटा संसदको अन्तराष्ट्रिय समितिले बनाउको जग्गा छानविन समितिको संयोजक थिए । सापकोटाले छानविनका क्रममा धेरै बेथिती र डरलाग्दो अवस्था आफूले भेटेको भन्दै सरकारलाई घचघच्याए ।

उनले कर्पोरेट शैलीमा सरकारी जग्गा हिनामिना भएको बताउँदै एनसेल जस्ता कर्पोरेट हाउसको करछली सामान्य विषय नभएको बताउँदै यहाँको सरकार, अदालतलाई प्रभाव पारेर भष्टाचारको खेल भइरहेको दावी गरे ।

भष्टाचार रोक्ने हो भने कुनै पनि बिष बृक्षको पात टिपेर, हाँगा काटेर नियन्त्रण गर्न नसकिने भन्दै उनले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराए । ओलीको भ्रष्टाचारविरोधी अभिव्यक्तिप्रति संकेत गर्दै सापकोटाले कुनै प्रवचन दिएर, कसम खुवाएर भ्रष्टाचार निर्मुल गर्न नसकिने बताए ।

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा तातोपानी नाका खोल्ने, सडक विस्तार गर्ने जस्ता धेरै राम्रा कुरा रहेको बताउँदै सापकोटाले जनयुद्ध, जनआन्दोलन हुँदै बनेको सरकारले अन्तर्राष्ट्रिय प्रचलन भन्दै मौलिकतालाई मास्ने काम गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्