Logo

प्रा. सापकोटाको ‘पोन्दरिङ अपन’ विमोचन,अगुवा चौतारी विशालनगर पुस्तकालयको शुभारम्भ



वैशाख २४, काठमाण्डौ । प्रा. पुरुषोत्तमप्रसाद सापकोटाको ‘पोन्दरिङ अपन’ (घोत्लाइहरु–एक चिन्तन) विमोचन भएको छ । काठमाडौं क्षेत्र नं. ५(१) का सांसद नारायण सिलवालले ‘पोन्दरिङ अपन’ विमोचन गरेका हुन् ।

सांसद सिलवालले पुस्तकमा लेखकको प्रस्तुतिको तारिफ गरे । वैयक्तिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि लेखकले पुस्तकमा गहिरो चिन्तन व्यक्त गरेको उनले बताए ।
त्यस्तै, डा. यज्ञनाथ आचार्यले अध्यात्मिक विचारबाट प्रभावित भई लेखकले केही नैतिक शिक्षा दिने प्रयास गरेको बताए । आचार्यका अनुसार पुस्तक दुई विभागमा विभाजित छ, पहिलो भागमा नैतिक ज्ञान तथा कर्तव्य बोध र दोस्रोमा अध्यात्म ज्ञान छ ।

नागरिक अगुवा शिवप्रसाद आचार्यले ‘पोन्दरिङ अपन’ एक नैतिक शिक्षा दिने पुस्तक भएको बताए । नागरिक अगुवा रघुनाथ घिमिरेले मानव जीवनका लागि उपयोगी हुने उपदेश र ज्ञानहरु पुस्तकमा रहेको बताए ।

विशालनगर–हाडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले पुस्तक आधुनिक चिन्तन, नेपालको पुरानो र मौलिक संस्कृतिको जगेर्ना गर्ने खालको रहेको बताए ।
पुस्तकमा व्यक्ति, परिवार र समाजको विकास र मानिसका चिन्तन प्रस्तुत गरिएको छ । आचार, व्यवहार, शास्त्र, संस्कृतिदेखि अध्यात्म विज्ञानबारे चिन्तन पनि पुस्तकमा समेटिएको छ ।

अगुवा चौतारी विशालनगर पुस्तकालयको शुभारम्भ
सो अवसरमा ‘अगुवा चौतारी विशालनगर पुस्तकालय’को शुभारम्भ पनि गरिएको छ ।
अब हरेक हप्ताको बुधबार विशालनगर पुस्तकालयमा समाजिक कार्यकर्ता र अगुवा भेला हुने तथा सामाजिक अजेन्डामा छलफल गरी निष्कर्ष निकालिने विशालनगर–हाडीगाउँ सम्पदा समाजका अध्यक्ष श्रेष्ठले बताए । आगामी बुधबार हुने पहिलो भेलामा हाडीगाउँ सम्पदाको विषयमा चर्चा हुने श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्वागत भाषण भने पुस्तकालयका उपाध्यक्ष उत्तम शर्माले गरेका थिए । काठमाडौं ५ का वडाअध्यक्ष रमेश डंगोलले अगुवा चौतारीको अवधारणा आफूलाई मन परेको र यसलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्