Logo

नेपाल प्रहरीमा मौलाउँदै बेथिती, बर्दीकै अपमान



वैशाख २८, काठमाण्डौ । अपराधिक गतिविधि नियन्त्रण गर्ने र सामाजमा शान्ती सुरक्षा कायम गर्ने दायित्व राज्यले नेपाल प्रहरीलाई सुम्पेकोे छ । तर, यहि प्रहरीको बर्दीमा अपराधिक क्रियाकलाप गरेर प्रहरी संगठनलाई नै बद्नाम गर्ने प्रहरीको पनि कमी छैनन् ।

पछिल्लो तथ्याङले तीन वर्षको अवधीमा यस्ता कृयाकलापमा संलग्न भएको आरोपमा ५ हजार ८ सय ९४ प्रहरीमाथि कारबाही भएको छ । बलात्कार, हत्या, ठगी, गैरकानुनी धन्दा चलाउन प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले संलग्न रहेको कसुरमा करिब ६ हजार प्रहरी कारबाहीमा परेका हुन् । यस विवरणले पनि प्रहरी संगठन भित्रै अपराधिक मानसिकता भएकाहरुको संख्या बढ्दै छ भन्ने प्रष्ट पार्छ । बर्दी र शक्तिको चरम दुरुपयोग गर्दै तस्करहरुसँग सेटिङ मिलाएर काम गर्ने देखि बलात्कारीसँग आर्थिक लेनदेनमा मिलापत्र गर्नेसम्मको काममा प्रहरीको सक्रियता बढ्दै गएको छ ।

सेवाको बर्दीलाई हतियार बनाउदै जनता तर्साई कमाउ धन्दा चलाउने प्रहरीको कुनीतिले प्रहरी नै अपराधी जस्तो बन्न थालेको अपराधशास्त्रीहरु बताउँछन् । प्रहरी संगठन भित्रकै पैसा र शक्ति मोहकै विकृतिले यस्तो अवस्था आएको अपराधशास्त्री डा. दिपेश केसी बताउँछन् ।

डा. दिपेश केसी
परराष्ट्र तथा अपराधविद्

प्रहरी भित्र मौलाएको यस्तो प्रवृतिले विस्तारै प्रहरी संगठननै गैरकानुनी धन्दाको खुल्ला अखडा बन्न समय नलाग्ने प्रति विज्ञहरुको चिन्ता छ । प्रहरी नै बिक्न थालेपछि प्रहरीसँगकै सेटिङमा गैरकानुनी धन्दा मौलाएको र वास्तविक पिडित माथि अन्याय भैरहेको प्रशस्तै उदाहरण छन् मुलुकमा तर, पूर्व प्रहरी अधिकारीहरु भने यस विषयमा गैरकानुनी र डरलाग्दो जवाफ दिन्छन् । पुर्व एआइजी राजेन्द्र सिंह भन्छन् — बर्दीको बलमा गैरकानुनी धन्दा नगरे कुनै काम हुदैन यो स्वभाविक पनि हो ।

उनका अनुसार लामो समय नागरिकको सेवामा खटिनुपर्ने भएपनी सेवा सुविधा थोरै हुन्छ अनि राजनीतिक तहबाटै घुमाउरो दबाव हुन्छ उनिहरुको फेबरको काम नगरे पदउन्नती र जागिर धरापमा पर्छ ।

पूर्व प्रहरी अधिकारीहरुले नै यस्तो गम्भीर विषयलाई यति हलुका रुपमा लिनुले प्रहरी संगठन भित्र कसरी अपराधिक मानसिकता मौलाएको छ भन्ने प्रस्ट हुन्छ । प्रहरीहरु अपराधीसँग मिल्नु र साँठगाँठ गर्नुलाई सामान्य मानिनुले आपराधिक क्रियाकलाप गर्नेहरु उच्च अधिकारीहरुबाटै संरक्षित छन् भन्ने पनि प्रस्ट हुन्छ ।

प्रहरी स्रोतका अनुसार राजनीतिक पहुँच नभएका र दाम मिलाउन नसक्ने प्रहरी अधिकारीहरु मात्रै अक्सर कारबाहीमा पर्छन् तर ठुला ठुला गैरकानुनी काम गरी कमाउँ धन्दा चलाउनेलाई कुनै कानुनले छुदैन । प्रहरी संगठन भित्रकै यस्तो विकृतिले मुलुकमा सुरक्षा संवेदनशिलता र सुशासनकालागि प्रहरीको भुमिका माथि नै प्रश्न खडा हुन्छ । यस तर्फ प्रहरी प्रशासनको ध्यान जानु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्