अख्तियारद्वारा दुई अधिकृत र एक नासुविरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ ।

आयोगले आज भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजश्व छली गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा तीन कर्मचारीलाई कारवाहीका लागि आयोगले प्रक्रिया अघि बढाएको हो ।

विसं २०७५ जेठ २४ गते भन्सार एजेण्ट दिनेशकुमार बानियाँसँगको मिलेर झुटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नंका मालवाहक ट्रकबाट भन्सार महसुल तथा राजश्व छली गरी मालवस्तु ल्याइएको र र घीउ प्रज्ञापन पत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले खराब मनसायले सामानधनीसँगको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको बताइएको छ ।

भन्सार एजेण्ट सङ्केत नं ३५ का दिनेशकुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रवीन्द्र गुप्ता र वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्तालाई पनि आयोगले कारवाही र बिगो भराइको माग गरेको छ । त्यस्तै हिमालयन कार्गोको सञ्चालिका मधुकुमारी चौधरी र सोही कम्पनीका लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताले प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ ।

राजश्व अनुसन्धान विभागका नायब सुब्बा देवीबहादुर थापाले राजश्व छली तथा चुहावटको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान नगरी नेपाल सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुग्याएको भन्दै सजायको माग गरेको छ ।रासस