Logo

विकास निर्माणमा एकजुट भएर अघि बढ्न आग्रह



प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको सोलार ऊर्जा सम्बन्धी अन्तक्र्रियामा उहाँले जनप्रतिनिधिलाई पार्टीको नभई विकासको झण्डा बोकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

“चुनावका बेला पार्टीको झण्डा बोकौँला । अहिले विकासको झण्डा बोकौँ । अनि मात्र विकास सम्भव हुन्छ” मुख्यमन्त्री राउतले भन्नुभयो । प्रदेश नं–२ मा ऊर्जाको प्रमुख आधार सोलार ऊर्जा भएको उहाँको भनाइ थियो । थुप्रै लगानीकर्ता प्रदेशमा लगानी गर्न इच्छुक रहेकाले उनीहरुलाई जग्गा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, राज्यमन्त्री डा डिम्पल झा, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । प्रदेश नं २ मा चौधरी ग्रुपले एक वर्षभित्र २०० मेगावाट सोलार विद्युत् उत्पादन गर्ने सम्झौता गरेकाले त्यसका लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकारले पहल थालेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्