Logo

मिडिया काउन्सिल विधेयकको पक्षमा प्रचण्ड



काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको पक्षमा उभिएका छन् । अध्यक्ष दाहालले उक्त विद्येयकको पूर्ण रुपमा बचाउ गरेका छन् ।

१७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गरेका छन् ।

उनले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । प्रचण्डले पार्टी्भित्र सवै नेतालाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताए । उनले गुटगत व्यवहार मौलाएकाले व्यवस्थापनमा कठिनाई भएको स्पष्ट पारे ।

त्यस्तै, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता खतरामा नभई समृद्धिको अवस्थामा पुर्‍याउने दाबी गरे । उनले सञ्चारमाध्यममाथि नियन्त्रण गर्न नभई नियमनका लागि सरकारले विधेयक ल्याएको जिकिर गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमप्रति सत्तारुढ दल नेकपाको नीति गलत बन्दै गएको आरोप लगाए । उनले पत्रकारका संगठनहरु पार्टीका भ्रातृ संगठन नभएको भन्दै आफूहरु स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको जिकिर गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्