Logo

विप्लवका कारण विदेशी सेना परिचालनको अवस्था आउन सक्छ : देव गुरुङ



देव गुरुङ, प्रमुख सचेतक, नेकपा
आइतबार अपराह्न काठमाडौँमा शृङ्खलावद्ध विस्फोट भए । सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटहरुमा चार जनाको ज्यान गयो । सोमबार नेपाल बन्दको आयोजना गरियो । यो सब गर्ने गराउने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा हो । त्यसैले सरकार विप्लवप्रति आक्रोषित बनेको छ । वार्ता गर्ने कि दमन भन्नेमा दोधार छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेत्र विक्रम चन्द विप्लवसँग अब वार्ता गर्नुपर्छ कि दमन ?
हामीले सहमति, समझदारी र सम्वादकै प्रक्रियाबाटै अगाडि बढ्नुपर्छ भनिरहेका छौँ । अहिले हिंसात्मक गतिविधिबाट अगाडि बढ्ने समय होइन । हिंसाले मुलुकको राष्ट्रिय अस्मितालाई गम्भीर आँच पुर्याउँछ । अहिलेको अवश्यकता भनेको जुनसुकै राजनीनिक शक्तिसँग पनि संवाद नै गर्नुपर्छ । तर यसका लागि उहाँहरु तयार हुनुभएको छैन । जसले गर्दा केही जटिलता र समस्या पैदा भएको छ ।

विप्लवले संगठन विस्तार गरेर जनसरकार र जनसेना बनाइसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाले अब नियन्त्रणको नीति लिने संकेत दिनुभएको छ नि ?
गृहमन्त्रीले त्यसो भन्दैमा सरकारले विप्लवसँग वार्ता गर्दैन भन्ने अर्थमा लिनु हुँदैन । वार्ता र संवादको लागि तयार हुने कि नहुने भन्ने प्रश्न मुख्य कुरा हो । सरकार वार्ताका लागि सरकार तयार छ । गृहमन्त्रीले पनि वार्ताका लागि तयार रहेको बताइसक्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल नै विप्लवप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको बेलामा वार्ता कसरी सम्भव हुन्छ त ?
संविधान र कानुनविपरित गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा त राज्य संचालन गर्नेहरुका लागि स्वभाविक कुरा हो । तर राजनीतिक मुद्धाहरुमा कानुनी र राजनीतिक प्रक्रियामार्फत संवादको मार्ग पनि अवलम्बन गर्नुपर्छ । सरकारले पनि संवादको ढोका नै बन्द गरेको अवस्था छैन । गैर कानुनी र गैर संवैधानिक प्रकारका काम नियन्त्रण गर्ने कुरा त राज्यको स्वभाविक चरित्रको कुरा हो ।

वार्ताको लागि विप्लव तयार नभएको अवस्थामा के हुन्छ ?
अहिले पनि उहाँहरु वार्ताको लागि तयार नभएकाले यस्तो अवस्था आएको हो । बल प्रयोग र वार्ताको प्रयास दुवै प्रक्रिया अवलम्बन गर्नुपर्छ । वार्ताको परिस्थिती नहुँदासम्म वार्ताको ढोका खुला राख्दै संविधानविपरितका काम कारबाहीको नियन्त्रण गर्नुपर्छ ।

यसैगरी द्धन्द्ध अगाडि बढ्दै गयो भने त अवस्था जटिल आउला नि ?
राष्ट्रिय अस्मिता बलियो भएर गएको अवस्थामा यस्ता प्रकृतिका घटना हुन पाउँदैनथे । राष्ट्रिय अस्मिता कमजोर भएको अवस्थामा मुलुकको आन्तरिक शक्तिहरुलाई बाह्य शक्तिहरुले खेलाउन पाउन परिस्थिती रहँदासम्म यस्ता घटना भइरहन्छन् । द्धन्द्धको अवस्था सृजना पनि हुन सक्छ । राज्य कमजोर हुन्छ । द्धन्द्ध व्यवस्थापनको नाममा विदेशी हस्तक्षेप बढ्छ । सेना परिचालन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसकारण अहिलेको अवस्थालाई थप जटिल बनाउन दिनुहुँदैन ।

आइतबार अपराह्न काठमाडौँमा शृङ्खलावद्ध विस्फोट भए । सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटहरुमा चार जनाको ज्यान गयो । सुरक्षा निकायको भूमिकालाई कसरी लिनुहुन्छ ?
सुरक्षाको व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ भन्ने कुरामा विमति र विवाद हुँदैन । तर सेना परिचालनको तहसम्म लैजानु हुँदैन ।

नेपाली सेना परिचालनको सम्भावना कति छ ?
कुनै पनि हालतमा द्धन्द्धको अवस्था सृजना गर्नु हुँदैन । सेना पचिालनको अवस्था आउनु भनेको विदेशी सेना नेपाल आएर हस्तक्षेप गर्नका लागि बाटो खुलाउनु जस्तै हो । द्धन्द्ध व्यवस्थापनको नाममा विदेशी सेना आउने पक्का हुन्छ ।



प्रतिक्रिया दिनुहोस्