Logo

मोदीको विदेश भ्रमणमा नेपाल प्राथमिकतामा परेन



दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो विदेश भ्रमण मालदिभ्सबाट शुरु गर्ने भएका छन् । भारतीय विदश मन्त्रालयले मोदीले आउँदो हप्ता जुन ८ मा मालदिभ्सको भ्रमण गर्ने खुलाइसकेको छ । मालदिभ्सको भ्रमणपछि मोदी सिधै श्रीलंका पुग्नेछन् ।

मोदीसँग नयाँ दिल्लीमा भएको भेटपछि श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाले भ्रमणको खुलासा गरेका हुन् । ९ जुनमा मोदी कोलम्बो पुग्ने सिरसेनाले निश्चित साथ भने । भारत फर्कनुअघि मोदीले केही घण्टा कोलम्बोमा बिताउनेछन् । श्रीलंकाले मोदीको आगमनलाई पर्खिरहेको समेत बताए ।

भारत र मालदिभ्सबीच पछिल्लो समय निकै सुमधुर सम्बन्ध स्थापित भएको छ । मालदिभ्समा सत्ता परिवर्तनपछि भारतसँगको सम्बन्धमा विगतमा आएको गतिरोध समेत अन्त भइसकेको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई चुनावमार्फत् विस्थापित गरी इब्राहिम मोहमद सोलिह राष्ट्रपति भएका छन् । उनलाई सत्तामा स्थापित गर्न भारतले मुख्य भूमिका खेलेको विषय चर्चामा आयो ।

श्रीलंकासँग पनि भारतको सम्बन्ध निकै प्रगाढ भएको छ । पूर्व राष्ट्रपति महीन्द्रा राजापाक्षको कार्यकालमा भारतसँगको सम्बन्ध चिसिएको थियो । मैत्रीपाला सिररेना राष्ट्रपति बनेपछि श्रीलंका भारतसँग निकै नजिकिएको छ । श्रीलंकामा भएको पछिल्लो आतंककारी हमलाका दोषी पत्ता लगाउन भारतले सहयोग पु¥याउँदै आएको छ । भारत भ्रमणका बखत सिरसेनाले भारतले हमलाको पूर्वसूचना दिइसकेपनि आफूलाई जानकारीमा नआएको खुलासा गरेका छन् ।

नेपाल आउलान् मोदी

सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले भुटानबाट पहिलो विदेश भ्रमणमा भुटानलाई चयन गरेका थिए । मोदीको भ्रमणमा दोस्रो देश नेपाल बन्यो । १७ वर्ष कुनैपनि भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण नगरेको अवस्था अन्त गर्दै मोदी नेपाल आएका थिए ।

मोदी पाँच वर्षे कार्यकालमा चारपटक नेपाल आए । त्यसमध्ये दुईवटा भ्रमण राजकीय थियो । सार्क शिखर सम्मेलन र बिमस्टेक शिखर सम्मेलनका लागि समेत मोदी आए । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको दर्शनका हेतु समेत मोदी नेपाल आएका थिए ।

नेपाललाई निकै प्राथमिकतामा राखेका मोदीले आउँदो कार्यकालमा भ्रमण गर्नेमा आशंका पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेको मौकामा मोदीलाई भ्रमणको निम्तो दिएको बुझिएको छ । तर, भारतीय पक्षबाट कुनै जवाफ आइसकेको छैन । मोदीले नेपाललाई चासो दिदादिदै विगतमा सम्बन्धमा समस्या आएको थियो । नाकाबन्दी जस्तो गम्भीर घटना भयो ।

जयशंकर कुटनीति

पूर्व विदेशसचिव एस. जयशंकर भारतको विदेशमन्त्री बनाइएका छन् । उनी विदेशसचिव हुँदा नेपालमा नाकाबन्दी लाग्यो । जयशंकर आफै नेपाल आएर संविधान जारी हुने बखत नेताहरुलाई भेट्न आएका थिए ।

जयशंकर विदेशमन्त्री हुनुमा भारतले छिमेकलाई भन्दा बलिया देशसँगको सम्बन्धमा बढी चासो दिने अभिप्राय देखिन्छ । चीन र अमेरिकाको राजदूतको अनुभव सँगालेका जयशंकरले ठूला देशसँगको सम्बन्धमा भारतलाई कुटनीतिक लाभ दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

दोक्लाम विवादमा चीनसँगको विवाद सल्टाउन देखि अमेरिकासँगको आणविक सम्झौतामा जयशंकरको कुटनीतिक क्षमता टेष्टेड भइसकेको छ । भारतलाई क्षेत्रीय शक्तिबाट महाशक्ति बनाउने महत्वाकांक्षा बोकेका मोदीले जयंशकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिनुले भारतले साना देशहरुलाई भन्दा ठूला देशसँगको सम्बन्धमा विशेष ध्यान दिने रणनीति बुझ्न सकिन्छ । त्यसैले, अबका वर्षहरुमा मोदी नेपाल भ्रमणमा आउलान् नआउलान् भन्नेमा समेत शंका उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्