Logo

‘मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो–चाईनिज’



काठमाडौं, १८ जेठ । भारतीय पूर्व मेजर जनरल अशोक मेहताले नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भारतको पूर्ण साथ र सहयोग प्रचण्डलाई रहनेको सनसनीपूर्ण खुलासा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै मेहताले यस्तो दाबी गरेका हुन । उनले मोदीको पनि प्रचण्डलाई नै साथ रहेको जिकिर गरे । ‘नेपालमा मोदीको समर्थन प्रचण्डलाई हुन्छ, यसमा कुनै दुईमत छैन् ।’ उनकाअनुसार भारतका लागि विश्वासिला नेपाली नेतामा प्रचण्ड नै पर्छन् । मेहताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई त ‘प्रो–चाईनिज’ को ट्याग लगाईदिए ।

त्यस्तै, मेहताले भारतमा नयाँ विदेशमन्त्रीमा पूर्व विदेश सचिव सुव्रमन्यम जयशंकर नियुक्त भएकोमा पनि खुशी व्यक्त गरे । उनले भने,‘नयाँ विदेशमन्त्री जयशंकरले नेपाललाई राम्रोसँग बुझेका छन् । चीन, अमेरिका र नेपालसँगको उनको अनुभव धेरै राम्रो छ ।’ जयशंकरको पालामा भारत–चीन, भारत–नेपाल र भारत–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर हुने र कुनै समस्या नआउने पनि उनको विश्वास छ ।

मेहताले पटक–पटक नेपालमा आफूहरुको सहयोग प्रचण्डलाई रहने प्रतिक्रिया किन दिए ? यो आफैंमा खोजीको विषय बनेको छ । यता, नेपालमा पनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने गोप्य सहमतिलाई लिएर सम्बन्ध छताछुल्ल भएको छ ।



प्रतिक्रिया दिनुहोस्