Logo

नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने घर फर्कने



काठमाडौं १८ जेठ । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ ।

चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन ।

समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको छ । छानबिनकै चरणमा उच्च अदालतका दुई न्यायाधीशले अवकाश नै पाइसकेका छन् । अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन ।

परिषद्ले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित आठ जनालाई काजमा राखेको छ ।

सुरुवातमा माघ ४ गते परिषद्ले विराटनगरका पाँच न्यायाधीशलाई छानबिन प्रंक्रिया अघि बढाउने निर्णय गर्दै काजमा राखेको थियो । लगत्तै मुख्य न्यायाधीश भुर्तेलसहित तीन जनालाई पनि काजमा झिकाएको थियो । गोरखापत्र



प्रतिक्रिया दिनुहोस्