Logo

प्रधानमन्त्री ओलीलाई संघीयता बुझाउन बाँकी नै छ : मुख्यमन्त्री राउत



जेठ २०, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई बलियो बनाउनका लागि नै आफू केन्द्रित रहेकाले सोही अनुसार नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन र सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।

प्रदेश नम्बर २ को सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संघीयतालाई कसरी मजबुत बनाउन सकिन्छ भनेर नै प्रहरी ऐन र लोकसेवा आयोग विधेयक बनाइएको पनि राउतले प्रष्ट पारे । त्यसैगरी प्रादेशिक निजामति सेवासम्बन्धी विधेयक पनि छिटै पास गराउने मुख्यमन्त्री राउतले बताए ।

“सबै विधेयक पास गराएर छिटै नै हामी प्रदेशको आफ्नो प्रहरी र आफ्नै कर्मचारी भर्ना गर्छौँ ।” मुख्यमन्त्री राउतले भने ।

संघले त्यो अधिकार दिएको छ र भन्ने धमलाको प्रश्नपछि राउतले भने– “उसले दिनुपर्छ र ? संघीय सरकार के हो र ? अहिले संघीयता भइसकेपछि पनि…। प्रधानमन्त्री पनि संविधान र कानुनभन्दा माथि त छैनन् नि ।”

प्रदेश सरकारलाई प्रधानमन्त्रीले अधिकार दिने नभै संविधानले दिने भएकाले आफू संविधानअनुसार नै चल्ने राउतले स्पष्ट पारेका छन् ।

“देशको संविधानले के भन्छ त्यो मैले मान्ने हो, अरु कसले के भन्छ त्यो मान्न जरुरी छैन । प्रधानमन्त्रीले त संघीयता बुझेकै छैन, अब कसले बुझाउने ?” राउतले भने ।

प्रधानमन्त्री केपी ओली हिजोसम्म संघीयता विरोधी भएको तर अहिले त्यही संघीयता कार्यान्वयन गर्ने ठाउँमा पुगेकाले समस्या देखिएको राउतको भनाई छ ।

प्रधानमन्त्री ओलीले संघीयतामा भाँडभैलो सृजना गराउन खोजेको अरोप लगाउँदै राउतले पुरानै मानसिकताका कारण ओली संघीयता विरोधी जस्तो देखिएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्