Logo

पत्नीको शव नाघेर पति सगरमाथाको चुचुरोमा



सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न कठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले बचाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको मृत्यु भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्राण गयो । १५ मिनेट जति शव छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्यान जाने बताए । पति पत्नीको शव नाघेर चुचुरोतर्फ उक्ले ।

पत्नीवियोग छातिभित्र दबाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । ९ जेष्ठमा उनी शिखरमा पुग्दा पत्नी अञ्जलीको निधन भइसकेको थियो । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उद्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।

पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्यान गयो ।

अञ्जलीको शव निकालेर भारत पु¥याउन सात दिन लाग्यो । १६ जेष्ठमा भारत पु¥याएर भोलिपल्ट अन्तिम संस्कार गरिसकिएको छ । उद्दार गर्न र शव निकाल्न महङ्गो भएको गुनासो कुलकर्णी परिवारले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्