Logo

नेकपामा कार्यविभाजन विवादः ओलीसँग नेपाल असहमत



नेपाल कम्युनिष्ट पार्टीभित्र कार्यविभाजनको टुंगो आज पनि लाग्न सकेन । बिदाको दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा भागवण्डा नमिल्दा कुरा मिल्न नसकेको हो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटस्थलाई दोहोरो जिम्मेवारी दिन लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । बैठकका एक सहभागीका अनुसार नेपालले सरकारमा रहेकालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन नहुने प्रस्ताव राखेका थिए । तर, ओली त्यसमा असहमत भए ।

दोहोरो जिम्मेवारीबारे अर्का अध्यक्ष प्रचण्डले चाहिं मौनता राखेको स्रोतले बतायो । ओलीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन चाहेका छन् । यसलाई नेकपाभित्र बन्न लागेको नयाँ आन्तरिक गठबन्धनका रुपमा हेरिएको छ ।

कार्यविभाजनलाई लिएर नेकपाभित्र विवाद हुनुमा केही नेताहरुको सम्भावित गुट परिवर्तन पनि हो । पछिल्लो समय कुनै पक्षमा नदेखिएका बादल ओलीसँग नजिकिएका छन् । प्रचण्डले आफूनिकटलाई तान्न थालेपछि ओलीले बादललाई नजिक ल्याएका हुन् ।

प्रभावशाली नेता वामदेव गौतम पार्टीको महत्वपूर्ण विभागको आकांक्षी हुन् । उनले संगठन विभागको दाबी गर्दै आएका छन् । गौतम पछिल्लो समय ओलीसँग असन्तुष्ट छन् ।

नेकपाभित्रको कार्यविभाजन टुंगो नलाग्दा विवाद विस्तारै बाहिर आउन थालेको छ । कार्यविभाजनमा ढिलाई हुँदै गर्दा गुट परिवर्तनको सम्भावना समेत देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्