Logo

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य



काठमाडौं २३ जेठ । शुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको यो पहिलो पटक हो । मूल ढुकुटीको विवरण भने बाहिर ल्याइएको छैन ।

पशुपति क्षेत्र विकास कोषबाट दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेको थियो । अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ । बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको भण्डार तहबिलको तथ्यांकअनुसार बम्बे ढुकुटीमा ९ किलो सुन छ । चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । त्यो मूल ढुकुटीमा दखिला गरिएको थापाले जानकारी दिए । ‘२०१९ सालभन्दा अगाडिको मुचुल्का प्राप्त हुन सकेन,’ थापाले भने । बम्बे ढुकुटी पशुपतिको भान्सामा छ । मूल ढुकुटी मन्दिरको माथिल्लो तलामा छ । सुनचाँदी, हीरा, मोतीलगायत बहुमूल्य गहना मूल ढुकुटीमा दाखिला हुन्छ । बम्बे ढुकुटीमा भाँडावर्तन लगायत सम्पत्ति जम्मा हुन्छन् । यहाँको भाँडावर्तनको छुट्टै मुचुल्का तयार गरिने थापाले जानकारी दिए ।

किन खोलिएन मूल ढुकुटी ?
पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न २०६८ सालमा पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्था नियमावली जारी भयो । त्यही बेला कोषले मूल ढुकुटी पनि खोल्ने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध अधिवक्ता भरतमणि जंगम सर्वाेच्च अदालत गए । तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले ढुकुटी नखोल्न आदेश दियो । ‘अदालतको आदेशपछि म श्रेष्ठलाई भेट्न गएँ,’ नियमावली जारी गर्ने समयका कोषका सदस्य सचिव नरोत्तम वैद्य भन्छन्, ‘मेरो व्यक्तिगत चिनजानसमेत भएकाले किन यस्तो फैसला गरेको भनेर जिज्ञासा राखेँ । उहाँले अहिले खोल्यो भने सबै मास्छन्, जुन बेला विधिको शासन हुन्छ, त्यही बेला खोल्नुपर्छ भन्नुभयो । म उहाँको तर्कमा सहमत भएँ ।’

मूल ढुकुटीमा पशुपतिका पुजारी प्रवेश गर्न पाउँदैनन् । पशुपतिका भण्डारको जिम्मा लिएका भण्डारीसमेत छिर्न पाउँदैनन् । यहाँ छिर्ने अधिकार पशुपति भण्डार तहबिलका नाइके बिसेटलाई मात्र छ । बिसेट पनि धोती लगाएर मात्र छिर्न पाउँछन् ।



प्रतिक्रिया दिनुहोस्