Logo

डाँका समूहका छिरिङलाई गोली हानी समातियो



डाँका समूहका छिरिङ तामाङलाई प्रहरीले गोली हानी घाइते बनाएर पक्राऊ गरेको छ । प्रहरीको खोजीको सूचीमा रहेका छिरिङमाथि शुक्रबार दिउँसो बौद्ध अत्तरखेलमा गोली प्रहार भएको हो ।

काठमाडौं उपत्यकामा विगतमा भएका डकैतीका घटनामा छिरिङ संलग्न थिए । उनलाई प्रहरीले खोजी गरिरहेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले तामाङले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली प्रहार गरिएको बताए ।

विगतमा डकैती गर्ने तामाङ समूहका तीनजना पक्राऊ परिसकेका छन् । उनलाई पक्राऊ गर्न प्रहरी लामो समययता सक्रिय थियो ।

गोली लागी घाइते तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । बढी रक्तश्रावका कारण उनको अवस्था चिन्ताजनक छ ।
तामाङ समूह बौद्ध क्षेत्रमा सक्रिय थियो । हतियार देखाएर लुटपाट गर्ने समूहले व्यापारीलाई धम्क्याउने समेत गर्दथ्यो ।

महाशाखाका प्रमुख भएर आएपछि सहकुल थापाले गुण्डागर्दीलाई नियन्त्रणमा लिन कडा कदम चाल्ने बताएका थिए । उनले आपराधिक क्रियाकलाप गर्नेलाई छुट नदिने बताएका थिए । थापाले अपराधमा सुन्य सहनशीलता अपनाउने नीति बनाउँदा तामाङमाथि गोली प्रहार गरी पक्राऊ गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्