Logo

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान



नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ । काङ्ग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काङ्ग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“काङ्ग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भन्नुभयो, “देशभर नै अरु पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काङ्गेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गर्नुभयो । काङ्ग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काङ्ग्रेस सदैव लागिपर्ने बताउनुभयो । काङ्ग्रेस तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्