Logo

छक्कै पार्ने मोदी



यो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान एउटै कार्यक्रममा सहभागी हुँदैछन् । ३० र ३१ जेष्ठमा किर्गिस्तानको बिस्केकमा आयोजना हुन गइरहेको सांघाई सहयोग संघको शिखर सम्मेलनमा सहभागी दुई नेताबीच द्विपक्षीय भेट होला नहोला ? चासोको विषय बनेको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले दुई नेताबीच द्विपक्षीय भेट तय नभएको बताएका छन् । शिखर सम्मेलनमा खानसँग कुनै साइडलाइन भेट तय नभएको उल्लेख गरेका छन् । तर, सबैलाई आश्चर्यजनक पार्ने निर्णय लिने गरेका मोदीको भेट नहोला भन्न सकिन्न ।

छक्क पारिदिन्छन् मोदी

मोदी सबैलाई छक्क पार्ने कदम चाल्ने नेता हुन् । उनले विदेश मामलामा पनि त्यस्तै अप्रत्याशित निर्णयहरु लिएर सबैलाई छक्क पारेका थिए ।
२५ डिसेम्बर सन् २०१५ मा अफगानिस्तानको राजकीय भ्रमण गरेर फर्कदा मोदीले अप्रत्याशित रुपमा पाकिस्तान भ्रमण गरेका थिए ।

पाकिस्तानको मार्ग हुँदै भारत आउन लागेका मोदी चढेको विमान अकस्मात् लाहोर ओर्लिएको थियो । पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज सरिफ मोदीलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए । यो भेट दुनियाँका लागि चासो बन्यो ।

चिसिएको सम्बन्ध

काश्मिरको पुलवामामा भारतीय सुरक्षाकर्मी मारिने गरी आतंककारी हमलापछि भारतले पाकिस्तानको सीमाक्षेत्रभित्र हवाई आक्रमण गरेयता दुवै देशबीचको सम्बन्ध चिसिएपछि मोदी र इमरान एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

सम्बन्ध चिसिइरहँदा भारतले मोदीको सपथमा पाकिस्तानी प्रधानमन्त्री इमरानलाई निम्तो दिएन । जबकि पाकिस्तानबाहेक दक्षिण एशियाका सबै देशका राष्ट्रपति वा प्रधानमन्त्री सहभागी भएका थिए ।

इमरानले मोदीलाई जीतको बधाई दिएपछि मोदीले धन्यवादज्ञापन गरेका छन् । तर, दुई नेताबीच द्विपक्षीय कुराकानी हुन सकेको छैन । तर, पाकिस्तानले गतिरोध अन्तका लागि द्विपक्षीय कुराकानीको वातावरण बनाउन पत्र पठाएको छ ।

मोदीका लागि हवाई रुट

पाकिस्तानले मोदीका लागि हवाई रुट खोलिदिने भएको छ । बालाकोटमा भारतको सैनिक विमानले बम खसालेपछि पाकिस्तानले भारतका लागि उपलब्ध गराउँदै आएको ११ वटा हवाई रुटमध्ये दुईवटा मात्र खोलिदिएको छ । मोदीको किर्गिस्तानयात्राका लागि बन्द हवाई रुट खोलिदिने भएको छ ।

भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान यात्राका लागि हवाई रुट खोल्न अनुरोध गरेको थियो ।समाचार संस्था पीटीआईले पाकिस्तानले हवाई रुट खोल्ने निर्णय लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्