Logo

अहिलेको संयन्त्रबाट देश बन्दैन् : अध्यक्ष सिपी पौडेल



काठमाडौं, ३० जेठ । ‘राष्ट्र बचाऔं, राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले अहिलेको राज्यसंयन्त्र नै निकम्मा भएको आरोप लगाएका छन् । उनले भने,‘अहिलेकै संयन्त्रबाट यो देश बन्दैन । देशको अस्तित्व नै रहँदैन । देशलाई प्रगतिको पथमा डोर्याउनको लागि पनि अहिलेको राज्यसंयन्त्रलाई पूर्ण रुपमा पूर्नसंरचना गर्न जरुरी छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ता समेत रहेका अध्यक्ष पौडेलले देशमा न्याय दिन बसेका व्यक्तिहरु नै घुषखोर भएको आरोप लगाए । उनले भने,‘घुषखोर न्यायाधीशहरुबाट जनताले के को न्याय पाउने ? अस्ति भर्खरै काठमाडौं जिल्ला अदालतका न्यायाधिशले घुस डिल भएको खबर प्रमाणसहित बाहिर आएको र प्रमाणसहित अख्तियारको फन्दामा परे ।’ उनले नेपालका न्यायाधीशहरु न्यायाधीश नभएर फैसलाधिश बनेको पनि आरोप लगाए ।

पौडेलले अख्तियार आयुक्तनै घुस लिँदालिँदै रंगेहात पक्राउ परेको घट्ना सुनाउँदै भने,‘मुलुकमा भ्रष्टाचार रोक्ने निकायका प्रमुख पदाधिकारीहरु नै घुसखोरीमा संलग्न भएका छन् । यस्तै अख्तियारका प्रमुख आयुक्त दिपमान बस्न्यातकै सम्पत्तिको स्रोतबारे छानबिनको प्रक्रिया सुरु भएको छ । र, उहाँ विगतमा नक्कली शैक्षिक प्रमाणपत्रको विवादमा पनि मुछिनुभएको व्यक्ति हो ।’

त्यस्तै, उनले राणा शासनमा जनता बाठा हुन्छन र आफ्नो शासन समाप्त हुन्छ भन्ने डरले जनतालाई शिक्षाबाट बञ्चित गराईएको अवस्था सुनाउँदै भने,‘अहिलेका शासकहरुले शासन सत्ता आफ्नो हातबाट फुत्किन्छ भनेर यो देशमा रहेका युवा जनशक्तिहरु सबैलाई विदेश खेद्ने काम गरिरहेको छ ।’

मुलुकलाई अहिले दुई खालको खतराबाट जोगाउनुपर्ने पनि उनले आवश्यकत्ता औंल्याए । ‘पहिलो नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले हचुवाको भरमा विदेशीलाई नागरिकता दिने र नेपाल भित्र्याउने, र यहाँका बास्तविक नेपालीहरुलाई चाहीँ विदेश खेद्ने योजनाबद्ध रुपमा काम गर्यो । यसले गर्दा यो देश छिट्टै फिजीकरण र सिक्किमीकरण हुने अवस्था आईसकेको छ । त्यस्तै, दोस्रो यो देशमा रहेका युवाहरुलाई श्रम बेच्नको लागि विदेश पठाउने र नागरिकहरुसँग चर्को कर असुल गरेर शासकले आफ्नो सेवा सुविधा र मोजमस्तीमा त्यसलाई उपयोग गर्ने गरिरहेका छन् ।’

उनले मुलुकमा पछिल्लो समय भ्रष्टाचारले पनि जरा गाडेको सुनाए । उनकाअनुसार भ्रष्टाचारले जरा गाडेकोले गर्दा देशको अस्तित्व नै समाप्त हुने र देश असफल राष्ट्रमा परिणत हुने अवस्था आईसकेको छ । उनले भने,‘त्यसैले यो देशका युवालगायत सम्पूर्ण सचेत नागरिकहरुलाई राष्ट्र बचाउने र बनाउने यो महाअभियानमा सरिक हुनको लागि म आग्रह गर्दछु ।’

कार्यक्रममा स्वघोषित बाबा तथा माताहरुबाट पीडित महिला सीता थापाले आफूलाई व्यक्तिगत समस्या समाधान गरिदिने नाममा ठगिएको गुनासो पोखेकी छिन् । थापाकाअनुसार स्वघोषित बाबा तथा माताहरुले उपचारको नाममा ठगेर उनलाई सडकमा पुर्याईएको छ ।

उनले भनिन्,‘म त यस्ता स्वघोषित बाबा तथा माताहरुबाट ठगिएँ, अब यिनीहरुलाई राज्यले कारबाही गर्नुपर्छ । मजस्तै अरु पनि सोझासिधा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु नठगिउन भनेर म आज मिडियामा आएको छु ।’ पीडित थापा महाअभियानकै सहयोगमा आज मिडियामा आएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्