Logo

मत्स्येन्द्रनाथका ३१ पुजारीले दिए राजीनामाको चेतावनी



काठमाडौं ३१ जेठ । बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका ३१ पुजारीले सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

दैनिक नित्य पूजा, चार पटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबर्जस्ती पारित गरिए मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् ।

रातो मत्स्येन्द्रनाथ ३२ पानेजु संघअन्तर्गत ३१ पुजारी छन्, ७ बज्राचार्य र २४ शाक्य कुलका । उनीहरु प्रत्येक १५ दिन पालैपालो मन्दिरमा खटिन्छन् ।

त्यसबापत प्रत्येकलाई १० देखि १५ रोपनी खान्की जग्गाको व्यवस्था गरिएको छ । पुजारीका लागि छुट्याइएको जग्गा व्यक्तिको हुँदैन ।

पुजारीका लागि छुट्याइएको २५८ रोपनी जग्गा अहिले मोहीले भोगचलन गर्दै आएका छन् । त्यसबापत उनीहरु पुजारीलाई कुत बुझाउँछन् ।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा मोहीले भोगचलन गर्दै आएको जग्गा मोही कै नाममा जाने व्यवस्था राखिएपछि पुजारीहरु आक्रोसित भएको पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्