Logo

नाम धनी, मान्छे गरिब



नाम धनी मान्छे गरिब ! धनीरामका बारे कम्युनिष्ट नेताहरु भन्ने गर्थे । आर्थिक रुपमा विपन्न धनीरामलाई जहिले लाउन र खान धौ धौ पथ्र्यो । तैपनि, राजनीतिबाट भागेनन् । इमान्दार कम्युनिष्टका रुपमा पहिचान बनाइरहे ।

उनै इमान्दार, सादा जीवन उच्च विचारका धनीराम पौडेलको शुक्रबार विहान हृदयघातबाट निधन भयो । चितवनको बघौडा नयाँ पिपरियाका पौडेलको हृदयघातपछि माडीस्थित बगौडा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भयो ।

को हुन् धनीराम

धनीराम सामान्य जीवनयापन गर्थे । कम्युनिष्ट विचारलाई व्यवहारमा उतारेर हिंडेका थिए । उनका नजिकका मित्र नारायणप्रसाद कोइरालाका अनुसार पौडेल निकै इमान्दार थिए । सर्वहाराको जस्तै जीवन थियो उनको ।

डि. आर. शर्माका नामले नेकपा चौममा धनीराम आवद्ध थिए । निर्मल लामाको नेतृत्वमा रहेको पार्टीमा विद्यार्थीकाल देखि नै सक्रिय थिए । पाका कम्युनिष्ट नेता अमिक शेरचनका नजिक थिए । नेकपा अध्यक्ष प्रचण्डका उत्तिकै प्रीय थिए ।

धनीराम पौडेल कम्युनिष्ट राजनीतिमा जानिएकै नाम थियो । तर, प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनलाई शिक्षामन्त्री बनाउँदा कम्युनिष्ट नेता कार्यकर्ता नै आश्चर्यमा परेका थिए । धनीराम समेत मन्त्री भए भनेर छक्क पर्नेहरु धेरै थिए ।

राजनीतिक जीवनमा चल्तापूर्ता नभएपनि धनीरामले मन्त्री पाउनु आश्चर्यको विषय बनेको थियो । प्रचण्डका प्रीय हुनुले मात्र नभई राजनीतिमा निरन्तर दिएको योगदानका कारण अवसर पाएका थिए ।
दोस्रो संविधानसभा चुनावपछि समानुपातिकतर्फ सांसद भए । जीवनको उत्तराद्र्धमा मात्र धनीरामले अवसर पाए । प्रचण्डका नातेदार हुनुले मात्र धनीरामले अवसर पाएका थिएनन् । उनको राजनीति जीवन त्याग र संघर्षले भरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य समेत रहेका धनीरामको निधनले आफू मर्माहत भएको बताएका छन् । ट्वीटमार्फत् प्रचण्डले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्