Logo

प्रधानमन्त्री युरोपबाट फर्किएकै दिन प्रधानसेनापति चीन प्रस्थान



काठमाडौं, १ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा निस्किएका छन् । आइतबार अपरान्ह थापा चीनतर्फ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमणबाट फर्किएकै दिन प्रधानसेनापति चीन भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा निस्किएका थापाले उच्च सैनिक अधिकारीसँग भेट गर्नेछन् ।

चीनले नेपालसँग सैन्य तहमा सम्बन्ध बढाउँदै लगेको छ । चिनियाँ सैन्य अधिकारीहरुको आवत्जावत् बाक्लिएको छ । थापाकै कार्यकालको शुरुमै नेपाल र चीनबीच सैन्य अभ्यास भएको थियो । यसले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

विदेश भ्रमणमा प्रधानसेनापति थापाको दोस्रो गन्तव्य चीन भएको छ । प्रधानसेनापति भएपछि पहिलो भ्रमणका लागि भारत पुगेका थिए । उनले भारतीय सेनापतिको मानार्थ प्रधानसेनापतिको सम्मान लिएका थिए । जुन नेपाल भारतबीचको सैन्य परम्परा मानिएको छ ।

भारतपछि हरेक प्रधानसेनापति चीन जाने प्रचलन रहँदै आएको छ । थापाले पनि यसलाई निरन्तरता दिए ।

के गर्नेछन् चीनमा

चीन भ्रमणका क्रममा सेनापतिले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनले उच्चस्तरीय पदधिकारीसँग भेटघाट गर्नुका साथै ऐतिहासिक स्थलहरुको भ्रमण समेत गर्ने तय भएको छ ।

उच्चस्तरीय पदाधिकारीबारे केही नखुलाइएपनि प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाका प्रमुख ली जुओचेङसँग महत्वपूर्ण भेट गर्नेछन् । यसबाहेक चिनियाँ रक्षा मामला हेर्ने उच्च अधिकारीसँग पनि थापाको भेट हुनेछ । उनले उच्च राजनीतिक भेट पाउने नपाउने निश्चित नभएपनि त्यसको सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

चीन जानुअघि विमानस्थलमा प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाई गरेका थिए । चीनका राजदूत, नेपाली सेनाका उच्च अधिकारी विमानस्थलमा बिदाइका लागि पुगेका थिए ।
नेपाली सेनाले उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहाद्रपूर्ण सम्बन्धको सार्थ द्विपक्षीय आपसी हिन र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैगरी प्रधानसेनापतिको भ्रमण अवधिभर बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्