Logo

विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश



काठमाडौं, २ असार । विद्यालय तहबाट विदेशी भाषा अध्यापन गराउने क्रम बढेपछि नेपाल विदेशी भाषाको समेत क्रिडास्थल बन्नपुगेको छ । देशभित्र कतिपय चिनियाँ, हिन्दी र फ्रेन्च भाषा अध्यापन हुने विद्यालय पनि छन् । अंग्रेजीको त दबदबा देशभर भइसकेको छ ।

फैलाउँदै चिनियाँ भाषा

राजधानी र आसपासका नाम चलेका विद्यालयमा चिनियाँ भाषाको अध्यापन अनिवार्य जस्तै बनाइएको छ । रातो बँगला, पाठशाला, युनाइटेड, शुभतारा, मातृभूमि, राजश्री गुरुकुल एलआरआई, एपेक्स लाइफलगायतका विद्यालयमा चिनियाँ भाषा अनिवार्य बनाइएको छ ।

चिनियाँ भाषा अध्यापन गराउने शिक्षकको तलब सम्बन्धित विद्यालयले नभई चिनियाँ सरकारले प्रदान गर्दै आएको छ । चीनसँग सीमा जोडिएका जिल्लाहरुमा समेत चिनियाँ भाषा अनिवार्य छ । विशेषगरी सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लाका विद्यालयहरुमा चिनियाँ भाषाको अध्ययन अध्यापन अनिवार्य बनाइएको छ ।

भाषाको दबदबा

कुनैबेला अंग्रेजी भाषा समेत अनिवार्य नभएको नेपालमा अंग्रेजी अनिवार्य भयो । अनिवार्य नेपाली बाहेकका विषय अंग्रेजीमा अध्यापन गराउने परिपाठी बसालियो । अहिले नेपालमा अंग्रेजीको दबदबा छ । अंग्रेजी नजान्नेले केही जान्दैन भन्ने जस्तो अवस्था बनाइएको छ ।

हिन्दी भाषा विद्यालय र विश्वविद्यालय स्तरमा पढाइन्छ । केन्द्रीय विद्यालय, डिएभी स्कुल र मार्डन इन्डियन स्कुलमा अनिवार्य हिन्दी भाषा पढाइन्छ । त्रिभुवन विश्वविद्यालयमा हिन्दी विभाग नै छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी र हिन्दी विभागबाहेक अन्य भाषाहरुको अध्ययन विदेशी भाषा अध्यापन गराउने विश्वभाषमा मात्र छ ।

युवाहरु रोजगारीमा जाने आकर्षक गन्तव्य बन्दै गएको कोरियाली र जापानी भाषाको समेत आकर्षण बढेको छ । विद्यालय तहमा यी भाषाको अध्यापन नभएपनि भाषा पढाउने निजी इन्स्टिच्युटले यी भाषा पढाउने गर्छन् ।

अरेबिक र मलेशियन भाषा सिक्ने पनि उत्तिकै छन् । रोजगारीको गन्तव्य बनेको ती मुलुकहरुमा जानेले यी भाषाहरु सिक्ने गरेका छन् ।

के छ नियम

विद्यालयमा विदेशी भाषाको अध्ययन अध्यापन गराउन पाइन्छ । तर, त्यसलाई अनिवार्य बनाउन पाइदैन । विद्यार्थीले चाहेमा मात्र विदेशी भाषाको अध्ययन गराउनुपर्छ । यदि अनिवार्य बनाउनुपरेमा पाठ्यक्रम विकास केन्द्रले निर्णय लिन सक्छ ।

संस्कृतलाई खेदेर विदेशी भाषा

संस्कृत भाषाको अध्ययन अध्यापनको विरोध देशभित्रबाट भयो । जसका कारण यसको अनिवार्य पढाई रोकियो । संस्कृत भाषा यूरोपमा समेत पढाइन्छ । तर, नेपालमा पढाइने गरिएको संस्कृतिलाई लखेट्ने गतिविधि भए । संस्कृतलाई खेदेर विदेशी भाषा ल्याउने गतिविधि बढ्दै गएको छ । विदेशी भाषामार्फत् नेपाललाई क्रिडास्थल बनाउन खोजिदैछ । भाषा जान्नु र सिक्नु नराम्रो होइन । तर, भाषामार्फत जरा देखि न प्रभाव बनाउने गतिविधिमा विदेशीको रणनीतिक स्वार्थ लुकेको छ जसले देशमा दुरगामी असर पार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्