Logo

शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त



काठमाडौँ महानगरपालिकाले शहरको समस्या समाधान गर्न शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त गरेको छ । जनताको आवश्यकता र चाहना बुझेर शहरी उन्नतिमा ठोस योगदान पु¥याउन आयोगमा सदस्य नियुक्त गरिएको महानगरले जनाएको छ ।

नियुक्त हुनेमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा डा त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य तथा समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, शहरी योजनातर्फ कृतिकुसुम जोशी र प्राविधिकतर्फ इञ्जिनीयर सजीव श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई महानगरपालिका शहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० ऐन, २०७५ को व्यवस्थाबमोजिम नियुक्त गरिएको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

यसै ऐनबमोजिम जेठ १२ गते बसेको कार्यपालिकाको ३३औँ बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । सन्तुलित विकासबाट दिगो शहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि शहरी योजना आयोग गठन गर्न तथा सञ्चालन कार्यविधि ऐन तर्जुमा गरिएको हो । यस ऐनबमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय शहरी योजना आयोग गठन हुनेछ ।

यसले स्थानीय तथ्य र तथ्याङ्क सङ्कलन गर्ने, विकास आवश्यकता, आयोजना तथा परियोजनाको अध्ययन, अनुसन्धान, विश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ । ऐनको परिच्छेद २ बमोजिम गठित आयोगमा उपप्रमुख आमन्त्रित सदस्यका रुपमा रहनुहुनेछ । प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने यस आयोगमा प्रमुखबाट नियुक्त नौ जना सदस्य रहनुहुनेछ भने एक जना महिला अनिवार्य गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्