Logo

मनसुन प्रवेशपछि कुन जिल्लामा कति वर्षा हुँदैछ



काठमाडौं, ५ असार । दश दिन ढिलो गरी प्रवेश गरेको मनसुन नेपालभर फैलन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागबाट प्रवेश गरी क्रमश मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ ।

कुल वर्षाको ८० प्रतिशत वर्षा चार महिनाको अवधिमा हुने कारण पनि यसको निकै महत्व रहेको छ । जेष्ठको अन्ततिर मनसुन नेपालमा प्रवेश गरी असोजको मध्यसम्म रहन्छ । महाशाखाका अनुसार यस वर्ष प्रदेश १, २, ३ र ५ को केही पश्चिमी भू—भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरिएको छ ।

पूर्वी र मध्य तराईका जिल्लाहरुमा यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान छ । तराईको धान फल्ने क्षेत्रमा औसत भन्दा कम वर्षा भए कृषि उत्पादनमा असर पर्न सक्छ ।

कुन जिल्लामा कति वर्षा

६ असार देखि १२ असारसम्म देशभरका अधिकांश स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आउँदो मंगलबार र बुधबार पूर्वी र मध्य तराईका जिल्लाहरुमा भारी वर्षाको सम्भावना छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र महोत्तरीमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना रहेको हो ।

बारा, चितवन र रुपन्देहीमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बाँके र कैलालीमा आउँदो हप्तामा मेघगर्जनसहित वर्षाको सम्भावना छ । धनकुटामा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

दोलखा, काभ्रे र धादिङमा भारी वर्षाको सम्भावना रहेको छ । कास्की, पाल्पा र रुकुममा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।
दाङ, सुर्खेत र डोटीमा अबको हप्ता मध्यम वर्षाको सम्भावना छ । संखुवासभामा साताभरी मध्यम वर्षाको सम्भावना छ ।

हिमाली जिल्ला मुस्ताङमा हल्का वर्षा हुने अनुमानछ । जुम्ला र दार्चुलामा पनि आउँदो साता हल्का वर्षा हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्