Logo

विशाल चौधरीले दिए चार प्रहरीविरुद्ध यातना दिएको उजुरी



कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरीविरुद्ध यातना दिएको उजुरी दिएका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय चौधरीले याताना दिएको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुखसहित चार प्रहरीविरुद्ध यातना कसुरमा उजुरी दिएका हुन्।

बिहीबार चौधरीले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझासहित चार जनालाई उजुरी दिएका हुन्। उजुरीमा दुई प्रहरीको नाम खुलाइएको छैन । विशालका बुवा वीरबहादुरको रहोबरमा यातानासम्बन्धी उजुरी दिएका हुन्।

गत १९ मंसिरमा पक्राउ परेका विशाललाई दोस्रो दिन काठमाठौं पठाएको थियो। १८ मंसिरमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो। उनी १८ दिनसम्म हिरासतमा रहेका थिए। उतिबेला अपराध स्वीकार गरेका रावल र विशालले छुटेपछि डरले स्वीकार गरेको बताउँदै आएका छन्।

प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका छन्। यसअघि यातना र प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध दिएको मुद्दा आदालतमा पुगेको छ।

अधिकारकर्मी शारदा चन्दले तत्कालीन प्रहरीले चौधरीलाई चरम यातना दिएकाले पीडित परिवारले उजुरी दिएको बताए। उनले प्रहरीले नै अपराधी लुकाउन खोजेको आरोप लगाए । उनले उजुरी दर्ता गर्न आलटाल हुँदै गरेको बताइन्।

चौधरीले आँखामा पट्टी बाँधेर कुटपिट गरेको बताउँदै अधिकारकर्मीको सहयोगमा मुद्दा दिन लागेको बताए। कञ्चनपुर प्रहरीले उजुरीका विषयमा समन्वय भइरहेको जनाएको छ।कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले उजुरी दर्ता नभएको बताए।

होमवर्क गर्न १० साउनमा घरबाट हिडेकी निर्मलाको बलात्कारपछि हत्या गरेर ११ साउनमा उखुबारीमा फ्याकिएको अवस्थामा शव फेला परेको थियो। निर्मलाको न्यायिक आन्दोलनमा होमिएका घाइतेहरु उपचार हुँदै आएको छ।

सरकारले घोषणा गरेको १८ लाख राहत रकम निर्मलाकी आमा दुर्गाले बुझिसकेकी छन्। अझै, टुंगिन नसकेको निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। नयाँ पत्रिकाले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्