Logo

ओलीसँग मोदी मख्ख



काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी खुशी भएका छन् । उनले शुक्रबार ट्वीटमार्फत् ओलीलाई योग दिवसको कार्यक्रममा सहभागी भएकोमा धन्यवाद समेत दिएका छन् ।

विश्व योग दिवसमा प्रधानमन्त्री ओली राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा भारतीय राजदूत मञ्जिभ सिंह पुरी पनि सहभागी थिए । यसको जानकारी मोदीलाई तत्काल पुगेको थियो । ओली योग दिवसमा व्यक्तिगत रुपमा सहभागी भएकोमा मोदी खुशी भएको बुझिएको छ ।

मोदीले ट्वीटमा भनेका छन्,‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’
नेपाली भाषामा नै ओलीलाई मोदीले धन्यवाद दिनुलाई अर्थपूर्ण मानिएको छ । ओली विश्व योग दिवसमा सहभागी भएका थिए ।

योग दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै भनेका थिए,‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस्, शुभकामना ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्