Logo

अम्बर सिंह थापाले राखेको पौवाको गुठी



काठमाडौं, ७ असार । नेपालको इतिहासका बहादुर सैनिक कमाण्डर अमरसिंह थापाले पनि गुठी स्थापना गरेका थिए । धादिङको ज्यामरुङको पौवाको गुठी उनले स्थापना गरेका थिए ।

वि.सं. १८७२ को आषाढमा स्थापना भएको थियो त्यो गुठी । जुन अम्बर सिंह थापाले आफ्ना छोराका नाममा स्थापना गरेको गुठी हो । गुठीको दस्तावेजमा भनिए अनुसार कुंछा भञ्ज्याङमा बनाएको पौवाको संचालनका लागि गुठी स्थापना गरिएको हो ।

यसमा उल्लेख गरिए अनुसार निश्चित क्षेत्रभित्रको जग्गा गुठीमा राखिएको र त्यसको आयस्ताबाट पौवाको गुठी संचालन हुनेछ । गुठीका लागि राखिएको जग्गाको चार किल्ला समेत स्पष्ट पारिएको छ ।

गुठीको दस्तावेजमा भनिएको छ, ‛‛आगे काजी अम्बर सिं थापाके तिम्रा माझीला छोरा ररााभीम थापाका नाउमा कुंछा भञ्ज्याङमा वनायाको पौवाको गुठी षेत मुरी १५० व मध्ये बेतमुरी १३० खोलाले बगाई लैजान्दा ज्यामरुंका अम्बल मा लानीारको सि¥हान बोरिया मुरी १२६ तस्को साध पूर्व डांडग्याबोलाको ढिक प्रषाल. पश्चिम. खहन्या खोलाको ढिक. उत्तर. रैकर खेतको आली. एती चार किल्ला भीत्रको. वाझो जग्गा. थप गरी राखी वस्यौं. खेत बि¥हाई आवाद गुलजार गरी. पौवाको गुठी चलाउ ईती सम्वत १८७२ साल मीती आषढ सुदि १५ रोज ६ शुभम्’’

गुठी राख्नुमा प्रतिष्ठा

यस्तो बखत पनि थियो मानिसहरु पाटी, पौवा, मठ मन्दिर, पोखरी जस्ता सांस्कृतिक धरोहर स्थापना गर्न पाउँदा गर्व गर्थे । धान, धर्म गर्न अगाडि सर्थे । यसो गर्नु प्रतिष्ठासँग जोडिन्थ्यो ।

संस्कृतीले निरन्तरता पाओस् भनेर गुठी स्थापना गर्थे । गुठी चलाउन आफूसँग भएको चल अचल सम्पत्ति दान गरेर गुठीलाई दिन्थे ।
लिच्छवीहरुले मात्र नभई मल्ल र शाहहरुले धेरै गुठी स्थापना गरे । मानदेव, अंशुवर्मा जस्ता राजाहरले पनि गुठी राखे । मल्लकालमा धेरै गुठी राखियो ।

पृथ्वीनारायण शाहले १८२५ मा काठमाडौं उपत्यका जितेपछि गोरखनाथको पूजाका लागि गुठी राखे । उनका सन्तानले पनि गुठी राखे । राणाहरुसमेतले गुठी राखे । चन्द्र शमशेरले गुठी राखेको इतिहास छ । राजाले मात्र नभई प्रजाले पनि गुठी स्थापना गरेका थिए । गुठीको प्रचलनले समाजमा हामी हौं को भावना जाग्यो ।

कस्तो थियो कस्तो भयो

उहिले गुठी राख्ने प्रतिष्पर्धा चल्थ्यो अहिले गुठी माँस्ने प्रतिष्पर्धा चलेको छ । पञ्चायतकालमा शुरु भएको गुठी माँस्ने गतिविधि गणतन्त्रकालमा झन् बढ्यो । गुठीको जग्गा व्यक्तिको नाममा लान पटक पटक कानुन बनाइयो ।

गुठीको नामको जग्गा व्यक्तिको नाममा पु¥याएर नवसंभ्रान्तको हातमा पुग्यो । किसानहरु रित्तिदै गए । अहिले गुठीको जग्गा व्यक्तिको नाममा बनाउन योजनावद्ध तरिकाले चलखेल भइरहेको छ । सत्तामा रहेकालाई समेत प्रभावित पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्