Logo

कुकुरको मासु खाने पर्व, १५ हजार कुकुर काटिदै



बेइजिङ, असार ९ । चीनमा कुकुरको मासु खानु सामान्य मानिन्छ। चिनियाँ बजारमा कुकुरको मासु बेच्न राख्नु ठूलो कुरो होइन। चीनमा कुकुर, बिराला, सर्प, भ्यागुता, गंंगटा, साङ्ला, गोही, गड्यौला, घोडा, गधा, बाँदर, बिच्छी सबै खाइन्छ। चिनियाँले दुईखुट्टेमा चुलैंसी, चारखुट्टेमा खाट, उड्नेमा हवाईजहाज, पौड्नेमा पानीजहाज मात्र खाँदैनन् भन्ने चलन पनि छ। कुकुरको मासु सधैं खाइने भए पनि विशेष गरी हरेक वर्ष जुन २१ देखि ३० तारिखसम्म कुकुरको मासुखाने मेला लाग्ने कुरा चाहिँ अलिक अनौठो छ।

नागरिक न्युुजका अनुसार चीनको दक्षिणमा पर्ने क्वाङ्सी प्रान्तको युलिन प्रिफेक्चरमा जुन २१ देखि ३० तारिखसम्म यो वर्ष असार ६ गतेदेखि १५ गतेसम्म कुकुरको मासु खाने मेला लाग्छ। यसलाई ‘युलिन कुकुरको मासु मेला’ पनि भनिन्छ। सन् २०१४ अगाडि आयोजना गरिने युलिन मेलामा हरेक वर्ष १० हजारदेखि १५ हजारसम्म कुकुरहरू मारिन्थे। मेलामा चीनका आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्दथ्यो। कुकुरको मासु खाने मेलाले युलिनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पनि दिएको छ।

कुकुरको मासुमा विशेष प्रकारको तागत हुने र गर्मीमा शरीरलाई राम्रो गर्ने मान्यता राखेर जून २१ देखि ३० सम्म मेला लाग्ने गरेको हो। जून २१ तारिख उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन हो। सौर्य पात्रोअनुसार यो दिन उत्तरी गोलाद्र्धमा कर्कट संक्रान्ति पर्छ। जून २१ पछि सूर्य दक्षिणायन हुने भएकाले दिनहरू क्रमशः छोटा हुन थाल्छन्।

कुकुर स्वामीभक्त हुने र मानिसको सहयोगी हुने हुनाले यसलाई खानु हुँदैन भन्ने मान्यता विश्वव्यापी रहेको छ।
कुकुरको मासु भियतनाममा पनि खाइन्छ। क्वाङ्सी प्रान्त भियतनामसँग जोडिएको चिनियाँ भूभाग हो। सन् २०१४ अगाडिसम्म युलिनमा कुकुरको मासु खाने मेलाको आयोजना औपचारिक रूपमा स्थानीय सरकारको सहयोगमा सञ्चालन हुने गर्दथ्यो।

हजारौं वर्षदेखि चीनमा कुकुरको मासु खाने चलनलाई सन् २००९ देखि युलिनको स्थानीय सरकारले सामूहिक रूपमा कुकुर मारेर मासु खाने मेलाका रूपमा सञ्चालन गर्दै आएको थियो। सन् २०१४ अगाडि यो मेलामा १० हजारदेखि १५ हजारसम्म कुकुर मारिन्थे। मेलामा मारिने कुकुरहरू फर्ममा पालिएकादेखि सडकगल्लीका रोगी कुकुर र घरमा पालिएका कुकुर चोरेरसमेत ल्याइन्थ्यो। अहिले पनि मेला अवधिमा युलिन आसपासका घरमा पालिएका कुकुर चोरिने गर्छन्।

युलिनमा कुकुरको मासुखाने मेलाको चीनभित्रै विरोध हुने गरेको छ। चीनका प्रायःजसो ठाउँमा कुकुरको मासु खाइने भए पनि युलिन मेलामा कुकुरलाई क्रुर तरिकाले मारिने भएकाले चिनियाँ पशुअधिकारकर्मीले यसको विरोध गर्दै आएका छन्। युलिन मेलामा कुकुरलाई जिउँदै छाला काड्ने, जिउँदै तातोपानीमा चोबलेर ढड्याउने, फलामको डन्डीले कुटीकुटी मार्ने, जिउँदै झुण्ड्याएर मासु लुछ्ने, सानो पिँजडामा थुनेर घण्टौंंसम्म पानी पनि नदिई लामो यात्रा गराउँदै युलिनमा लगिने जस्ता क्रुर व्यवहार गरिन्थ्यो।

चीनलाई विश्वमा बद्नाम गराइएको भन्दै कुकुरको मासु खाने मेलामाथि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै लाखौं चिनियाँहरूले हस्ताक्षर गरेर स्थानीय सरकार र केन्द्रीय विधायकसम्म निवेदन दिएका थिए। फलतः सरकारले कुकुरको मासु खाने मेलामाथि प्रतिबन्ध त लगाएन तर सन् २०१४ देखि स्थानीय सरकारले मेलाको आयोजकका रूपमा सहभागी नहुने घोषणा ग¥यो। स्थानीय सरकारले मेलाको आयोजना नगरे पनि स्थानीय मानिसहरूले स्वतस्फूर्त रूपमा मेलाको आयोजना गर्दै आएका छन्। तर सन् २०१४ पछि चाहिँ कुकुरलाई क्रुर तरिकाले मार्न नपाइने भन्दै प्रहरीले कुकुरमाथि गरिने त्यसप्रकारका क्रुर व्यवहारमाथि नियन्त्रण गर्न थालेको छ।

प्रहरीको निगरानी र स्थानीय सरकार मेला आयोजकबाट बाहिरिएपछि सन् २०१५ मा युलिन मेलामा तीन हजारमात्र कुकुर मारियो। त्यसैगरी सन् २०१६ मा एक हजारमात्र कुकुर मारिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि अहिले पनि कुकुरको मासु खाने मेला युलिनमा चलिरहेको छ। सन् २०१६ मा मेलाबाट एक हजार कुकुरलाई केही चिनियाँ गैर सरकारी संस्थाले उद्दार गरेका थिए। त्यसैगरी सन् २०१७ मा कुकुरले भरिएका ट्रकबाट एक हजार तीन सय कुकुरको उद्दार गरिएको थियो। चिनियाँ प्रहरीका अनुसार त्यसरी ट्रकमा ल्याइएका अधिकांश कुकुरहरू या त चोरेर ल्याइएको थियो या खानका लागि अनुमति लिइएका कुकुर थिएनन्।

लाखौं चिनियाँले हस्ताक्षर गरी तत्कालीन चिनियाँ राष्ट्रिय जनकंग्रेसका सदस्य चन स्याओखलाई कुकुरको मासु खाने मेला बन्द गर्न अनुरोध गरेका थिए। कुकरको मासु खाने मेलाविरुद्धमा फान पिङपिङ, छन खुन, सुन ली र याङ मीजस्ता चिनियाँ सेलिब्रिटीहरूले पनि अभियान चलाएका थिए। कुकुर स्वामीभक्त हुने र मानिसको सहयोगी हुने हुनाले यसलाई खानु हुँदैन भन्ने मान्यता विश्वव्यापी रहेको छ।

कुकुरको मासु खानुलाई सभ्यतासँग पनि जोडेर हेर्ने गरिन्छ। त्यसो त सबै चिनियाँले कुकुरको मासु खाँदैनन्। मंगोलियाली अल्पसंख्यक चिनियाँ जातिले कुकुरलाई भगवानको रूपमा पूजा गर्ने हुनाले उनीहरू कुकुरको मासु खाँदैनन्। कुकुरको मासु मुख्य गरेर हान जातिका चिनियाँ बहुसंख्यक जातिले खाने गर्दछन्। चीनमा गरिबी भएकाले कुकुरको मासु खाइन्छ भनिए पनि त्यो कुरा सत्य होइन। किनभने कुकुरको मासु बंगुर अथवा कुखुराको मासुभन्दा महंगो पर्छ।

युलिन मेलामा कुकुरलाई क्रुर तरिकाले मारिएको भनेर पश्चिमा देशबाट विरोध हुने गरेको छ। यो हजारौं वर्षदेखिको एक किसिमको चिनियाँ संस्कृति हो। अन्य जनावर खान हुने कुकुर खान नहुने भन्ने कुरामा चिनियाँको विमति छ। पश्चिमा देशहरूमा पनि व्यापक रूपमा जनावरको सामूहिक हत्या गरिन्छ। अष्ट्रेलियामा हजारौं कंगारुलाई सामूहिक रूपमा मारिने चलन छ।

बेलायतमा एकैचोटि १९ लाख पशुलाई क्रुर तरिकाले मारिने गरेको इण्डिपेण्डेन्ट पत्रिकाले लेखेको छ। नेपालको बारास्थित गडीमाई मन्दिरमा पनि हजारौं पशुबली दिने चलन छ। पश्चिमाहरूले आफ्नो आँगको भैसी नदेखेर अरुको आँगमा जुम्रा खोजेको भन्दै केही चिनियाँले चिनियाँ संस्कृतिमाथि पश्चिमाको अतिक्रमण भनेर विरोध पनि गर्दै आएका छन्।

चीनमा वार्षिक एक करोड कुकुर खाइने अनुमान छ। वार्षिक रूपमा चीनमा खाइने कुकुरको अनुपातमा युलिन मेलामा मारिने कुकुर सून्य दशमलब शून्य एक प्रतिशत मात्र हो। सन् २०१७ मा एकसयभन्दा बढी चिनियाँ पशुअधिकारकर्मीहरूले खुला पत्र लेख्दै ‘मासु खानका लागि कुकुर नकिन्नुहोस्’ भन्ने आव्हान गरेका थिए।

चीनमा विशेषगरी क्वाङतोङ, क्वाङसी, क्वीचौ प्रान्तलगायत चीनको उत्तरपूर्वी भेगमा कुकुरको मासु बढी खाइन्छ। यतिबेला चीनको क्वाङसी प्रान्तको युलिन प्रिफेक्चरमा कुकुरको मासु खाने मेला लागिरहेको छ। मेला सुरु भएसँगै केही चिनियाँ पशुअधिकारकर्मीहरूले यसपटक पनि कुकुरको मासु खाने मेलाको विरोधमा आवाज उठाउन थालेका छन्।



प्रतिक्रिया दिनुहोस्